• २०८२ कार्तिक ११ गते सोमवार
  • Preeti To Unicode

 उत्तरी नाका तातोपानी र रसुवागढी ठप्प, चिनियाँ नाकामै अड्किए फलफूल र कपडा बोकेका २५० कन्टेनर


अविरल वर्षापछि आएको बाढीपहिरोले छिमेकी चीनलाई जोड्ने उत्तरी नाका तातोपानी र रसुवागढी ठप्प भएको छ । दुवै नाकाको सडक र पुल भत्किएर सम्पर्क विच्छेद भएपछि दसैँका लागि फलफूल र लत्ताकपडा बोकेर आएका दुई सय ५० कन्टेनर (चिनियाँ टेलर) खासा र केरुङमा रोकिएका छन् । चिनियाँ एक टेलरमा रहेका सामान नेपालका तीन ट्रकबराबर हुन्छ । यसर्थ, करिब सात सय ५० ट्रक जति सामान सीमापारि रोकिएको नाकामा क्रियाशील नमस्ते ट्रान्सपोर्ट कम्पनीका प्रमुख लोप्साङ शेर्पाले बताए ।

खासामा एक सय र केरुङमा एक सय ५० चिनियाँ कन्टेनर रोकिएको छ। त्यस्तै, तातोपानी यार्डमा थप ३० चिनियाँ कन्टेनर रोकिएका छन् । ‘केरुङ सहरमा पनि वर्षाले ठुलो क्षति भएको छ र नेपालतर्फ आउने बाटोमा दर्जनौँ पहिरो गएको चिनियाँ साथीहरूले जानकारी दिएका छन्,’ शेर्पाले भने, ‘अब तातोपानी र रसुवागढीमध्ये जुन बाटो पहिले खुल्छ, त्यतैबाट दसैँका सामग्री काठमाडौं ल्याउने तयारीमा छौँ ।’

भोटेकोशी नदीमा बगेको पुलको सट्टा ह्युमपाइप वा बेलिब्रिज हाल्नसके छिट्टै खासामा रोकिएको सामान ल्याउन सकिने उनको भनाइ छ । खासा–तातोपानी जोड्ने दुईवटा पुल भोटेकोशीले शनिबार राति बगाएको थियो । त्यसयता तातोपानी भन्सार र खासाको सम्पर्क टुटेको छ ।

त्यसैगरी, रसुवागढीदेखि केरुङसम्म चिनियाँ भूभागमा ठुलो पहिरो गएकाले सडक पूर्ण रूपमा बन्द छ । केरुङ र खासाबाट लामो समयदेखि फलफूल आयात गर्दै आएका व्यापारी शारदाप्रसाद पराजुलीले दिएको जानकारीअनुसार बाढीले चीनतर्फको बाटो पनि भत्काएपछि केरुङ सहरमा मात्रै फलफूल बोकेका करिब पाँच सय नेपाली कन्टेनर रोकिएका छन् ।

कोदारी राजमार्गको लिपिङ पुल र लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको छ । चिनियाँ सामान आउन नपाएकाले तातोपानी नाका पूर्ण रूपमा बन्द छ । जसकारण दसैँका लागि ल्याइएका सामग्री अलपत्र परेको तातोपानी भन्सारले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मङ्गलवार