काठमाडौं । गएको असोज १२ गतेको अबिरल बर्षापछि आएको बाढीमा परी मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भयो ।अखिल नेपाल फुटबल संघ (एन्फा)को गैरजिम्मेवारीले गर्दा ती खेलाडीको मृत्यु भएको भए पनि सरकारले छानबिन समिति गठनसम्म नगरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
विगतमा आँधीबेहरीका कारण दशरथ रंगशालामा धेरैको ज्यान जाँदा आफूले एन्फा अध्यक्षबाट राजीनामा दिएको प्रसंग उल्लेख गर्दै थापाले लेखेका छन्–‘०४५ साल फागुनमा आँधीबेहरीका कारण दशरथ रंगशालामा भएको दुर्घटनामा धेरैको ज्यान गयो । कसैको दबाब थिएन, कसैले राजीनामा मागेको पनि थिएन । अन्तर्आत्माको आवाज सुनेर अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षबाट मैले तत्काल राजीनामा दिएँ ।
सरकारले छानबिन आयोग गठन र्गयो । अन्ततः राष्ट्रिय खेलकुद परिषद विघटन भयो, शिक्षा मन्त्री राजीनामा दिन बाध्य भए । यो राजाको शासन र पंचायतकालको कुरा थियो ।
गत २०८१ असोजमा एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भयो । वर्तमान समयमा एन्फा नेतृत्वबाट राजीनामाको आशा वा अपेक्षा गर्दिनँ । कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु । यसतर्फ प्रम केपी ओलीको ध्यान आकर्षित गर्दछु ।’