• २०८२ मङ्सिर १६ गते सोमवार
  • Preeti To Unicode

रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न लागिएको हो ।

पार्टीका उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतका नेताहरू गए राति नै पोखरामा हुने प्रदर्शनको नेतृत्व गर्न पोखरा पुगेका छन् । राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता भन्ने नाराका साथ रास्वपाले लामिछानेको पक्राउविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई आज बिहान कास्की प्रहरीको जिम्मा लगाएको छ । काठमाडौंस्थित पार्टी कार्यालयबाट शुक्रबार साँझ पक्राउ गरेर सडकमार्ग हुँदै पोखरा ल्याएको सीआईबीले शनिबार बिहानका करिब ३ बजेतिर कास्की प्रहरीको जिम्मा लगाएको हो ।

लामिछानेलाई सीआईबीले सुरुमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गराएर जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याइएको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।रास्वपा उपाध्यक्षद्वय वाग्ले र अर्यालसँगै रवि पत्नी निकिता पौडेलले भेट गरेका थिए । ठाउँ ठाउँमा रविको समर्थनमा नाराबाजी गर्न कार्यकर्ता सडकमा उपस्थित भएका थिए ।

लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारीको रकम ठगीको आरोप छ । यसअघि सांसद सूर्यबहादुर थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले लामिछानेले सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न प्रहरीसमक्ष सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८१ कार्तिक ३ गते शनिवार