• २०८१ मङ्सिर १२ गते बुधवार
  • Preeti To Unicode

उपराष्ट्रपति यादव र युएईका राजदूत शम्सीबीच शिष्टाचार भेटवार्ता


काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्ला अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदानपश्चात् द्विपक्षीय सम्बन्ध, श्रम र आर्थिक सम्बन्धलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अरब इमिरेट्सबिच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै असल एवं मित्रवत् सम्बन्ध रही आएकोमा सन्तोष व्यक्त गर्दै भने, ‘दुई मित्रवत् देशबिचको उच्चस्तरीय भ्रमण आदानप्रदानले एकआपसमा सहकार्यका लागि थप अवसर प्रदान गर्दै आएको छ।’

उपराष्ट्रपति यादवले नेपाल सरकारको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने एयरलाइन्सलाई १६ सेप्टेम्बर, २०२६ सम्मका लागि शुल्क र राजस्वमा छुट प्रदान गरी प्रोत्साहन गर्ने निर्णयबारे जानकारीसमेत दिए।

उनले यूएईको ५३औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा हार्दिक शुभकामना दिँदै हालै ‘फ्लाई दुबई’ ले गौतमबुद्ध विमानस्थलमा सिधा उडान सुरु गरेकोमा हार्दिक धन्यवाद दिए।उपराष्ट्रपति यादवले ठूलो संख्यामा नेपालीहरूलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा युएई सरकारको प्रशंसा गर्दै नेपालले युएईको मानव संशाधनको आवश्यकता पूर्तिमा योगदान पुर्‍याएको विश्वास व्यक्त गरे ।

संयुक्त अरब इमिरेट्सका राजदूत शम्सीले नेपाली जनताको सेवाका लागि युएई सदैव तयार रहेको उल्लेख गर्दै नेपालको विभिन्न आयोजना र क्षेत्रहरूमा सहयोग गर्न समेत इच्छुक रहेको बताए।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार