काठमाडौं । चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेकपा एमालेसँग समान धारणा रहेको नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बताएका छन् । आज विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महामन्त्री थापाले यसअघि हस्ताक्षर भएका परियोजना यस पटक कार्यान्वयनको चरणमा जाओस् भन्ने चाहना आफूहरूको रहेको जिकिर गरेका छन् ।
उनले भने– ‘हामीलाई अहिले विकासका लागि स्रोत र साधनले पुग्दैन । ठूलो पुँजी चाहिएको छ । मित्र राष्ट्रले अनुदान दिओस् र बहुपक्षीय दातृ निकायबाट सस्तो ऋण लिन चाहन्छौं,’ ‘अमेरिका, चीन, भारत, जापान जस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन ।’
महामन्त्री थापाले सबै मित्र राष्ट्रसँग मित्रवत् सम्बन्ध स्थापित गर्न चाहेको भन्दै बीआरआई सम्झौता नेपालमा लागू गर्ने कुरा नेपाली कांग्रेसका लागि नयाँ र नौलो नभएको पनि बताए ।