काठमाडौं – नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा आज शुक्रबार (चैत २९)बाट दुई नेपाली बहुप्रतीक्षित चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ एकसाथ देशभर प्रदर्शनमा आएका छन्। फ्राइडे रिलिजको अवसरमा दुबै चलचित्र सिनेमा हलमा आएका हुन्।
यद्यपि, देशभरका सबै हलहरूमा यी दुई चलचित्रले मात्र कब्जा नगरेको देखिन्छ। ‘अञ्जली’, ‘लाज शणम्’ जस्ता पुराना चलचित्रहरू पनि केही हलहरूमा प्रदर्शन भइरहेको छ, जसका कारण दर्शकको ध्यान बाँडिने आँकलन गरिएको छ।
‘पिताम्बर’: ठूला स्टारहरूको जमघट
कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’ चलचित्रमा नेपाली फिल्म क्षेत्रका बहुचर्चित कलाकारहरूको जमघट देख्न सकिन्छ। प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा जस्ता कलाकारहरूसँगै बाल कलाकारहरू आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी र आध्य लामिछानेको समेत अभिनय रहेको छ।
चलचित्रमा आशीष अविरल र बाबुल गिरीको संगीत रहेको छ भने विशाल चौलागाईंले निर्माण गरेका हुन्। आरआर फिल्म्सले फिल्मको वितरण गरेको हो।
‘कर्मा’: एक्सन प्रधान सामाजिक कथा
सौरभ चौधरी निर्देशित ‘कर्मा’ एक्सन प्रधान चलचित्र हो, जसमा भ्रष्ट समाजले निर्दोष युवालाई कसरी असर गर्छ भन्ने विषय उठाइएको छ। चलचित्रमा विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेव लगायतका कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रमा भास्कर स्वाँरको संगीत, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी र निमेष श्रेष्ठको सम्पादन रहेको छ। ‘कर्मा’लाई आर्टिस्टिक इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो भने वसन्त लम्सालले लगानी गरेका हुन्।
देशविदेशमा एकसाथ प्रदर्शन
दुबै चलचित्र नेपालका विभिन्न सिनेमा हलहरूमा मात्र नभई केही विदेशका मुलुकहरूमा पनि एकसाथ प्रदर्शनमा आएका छन्। नयाँ वर्षको भोलिपल्ट शनिबार र सार्वजनिक बिदा पर्न जाँदा दुवै चलचित्रले दर्शक तान्ने अपेक्षा गरिएको छ।