काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नेसनल स्टुडेण्ट ट्यालेन्ट कम्पटिसन २०८२ सम्पन्न भएको छ। विहिबार सम्पन्न उक्त प्रतियोगितामा करिब १७ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको थियो। विद्यार्थीका प्रतिभालाई राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरका ४५ जिल्लाका २७० विद्यालयका ७६५ विद्यार्थी सहभागी भएका थिए।
स्पीच, सिङ्गिङ, डान्सिङ, हेण्डराइटिङ र ड्रइङ गरी पाँच विधामा प्रतिस्पर्धा गरिएको थियो। फाइनल चरणमा ३० जिल्लाका २७ विद्यालयबाट ४१ जना प्रतिस्पर्धी पुगेका थिए। प्रत्येक विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ लाख, १ लाख र ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगिता संघर्ष जनआवाज मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न भएको हो। आयोजकका अनुसार ग्राण्ड फिनाले बाहेकका अधिकांश चरण “ट्यालेन्ट स्टार” नामक अनलाइन माध्यमबाट सञ्चालन गरिएको थियो। आयोजक अमित बर्मा शाक्यले विभिन्न चुनौतीका बीच कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए र आगामी वर्ष दोस्रो संस्करण देशभरका सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।