काठमाडौं । यसवर्षको ‘मिस वर्ल्ड २०२५’ प्रतियोगिता भियतनाममा आयोजना हुने भएको छ। दक्षिणपूर्वी एसियाली मुलुकले पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो।
‘मिस वर्ल्ड’ले आफ्नो अफिसियल सामाजिक सञ्जालमार्फत यसबारे पुष्टि गरेको छ। आयोजकले बुधबार राति जानकारी दिँदै प्रतियोगितामा १३० भन्दा बढी प्रतिस्पर्धी सहभागी हुने अपेक्षा गरिएको बताएका छन्।
आगामी दिनहरूमा विश्वका सुन्दरीहरू विशेष उत्सवका लागि भियतनाममा भेला हुने आयोजकको वक्तव्यमा उल्लेख छ। जुलिया मोर्ले, मिस वर्ल्ड संगठनकी अध्यक्ष, मार्च २९ मा हो ची मिन्ह सिटीमा हुने ग्राण्ड फिनालेमा उपस्थित भई थप जानकारी सार्वजनिक गर्नेछन्।
सन् १९५१ मा बेलायतमा स्थापना भएको मिस वर्ल्ड प्रतियोगिता विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामध्ये एक मानिन्छ। प्रतियोगिताले सौन्दर्य, बुद्धिमत्ता, र सामाजिक सेवाप्रतिको प्रतिबद्धता बोकेका प्रतिस्पर्धीलाई सम्मान गर्दै विश्व एकताको सन्देश दिन्छ। पछिल्ला वर्षमा यसले ‘ब्युटी विथ अ पर्पस’ परियोजनामा विशेष प्राथमिकता दिँदै आएको छ।
नेपालबाट यसवर्ष मिस नेपाल लुना लुइँटेलले प्रतियोगितामा सहभागिता जनाउनेछिन्। उनी आफ्नो ‘ब्युटी विथ पर्पस’ परियोजना पर्वतको फलेवासमा संचालन गर्दै आएकी छिन्।