काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले युवा इन्जिनियर तथा नेतृत्त्वकर्ता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्री बन्ने सन्दर्भमा सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बालेनको काँधमा ऐतिहासिक जिम्मेवारी आएको उल्लेख गरेका छन्।
भट्टराईले लामो समयदेखि देशको अर्थ–राजनीतिक संरचना आन्तरिक रूपमा गत्यावरोधमा फसेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न नयाँ नेतृत्वलाई सुझाव दिएका छन्। उनले आन्तरिक अर्थतन्त्र सुधारसँगै तीव्र रूपमा बदलिँदो भू–राजनीतिक परिवेशलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु नयाँ प्रधानमन्त्रीको प्रमुख दायित्व भएको बताएका छन्।
उनले २१औँ शताब्दीका आधुनिक आकांक्षाहरू पूरा गर्ने दिशामा युवा नेतृत्व सफल हुने विश्वास व्यक्त गरेका छन्। नेपाल लामो लोकतान्त्रीकरणको यात्रापछि अब सुशासन र समावेशी समृद्धिको नयाँ चरणमा प्रवेश गरेको पनि उनले उल्लेख गरेका छन्।
भट्टराईका अनुसार अबको राजनीति डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मैत्री युवा पुस्तामा पुस्तान्तरण हुँदै गएको छ, जसलाई राजनीतिक वृत्त र आम नागरिकले आत्मसात गर्नुपर्ने आवश्यकता छ।
युवा नेतृत्वप्रति समाजको दृष्टिकोणबारे पनि उनले स्पष्ट धारणा राख्दै नयाँ नेतृत्वलाई काम गर्ने सहज वातावरण दिनुपर्ने बताएका छन्। कसैलाई देवत्वकरण वा दानवीकरण नगरी, कामको गुण–दोषका आधारमा मूल्याङ्कन गर्ने स्वस्थ लोकतान्त्रिक संस्कृतिको विकास गर्न उनले सबैलाई आह्वान गरेका छन्।