बागलुङको कालिका भगवती मन्दिर परिसरमा चैते दसैं मेला धार्मिक मात्र नभई आर्थिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ। ग्रामीण किसानले वर्षभरि बनाएका काठ, बाँस र निगालोका घरेलु सामाग्री, जस्तै ठेका, डाला, नाङ्ला, डम्फु, मादल, डोको, डाली आदि मेलामा बिक्रीका लागि ल्याइन्छ। मेलामा देशभरका भक्तजन र पर्यटक सहभागी हुने भएकाले यो मेला स्थानीय उत्पादनको बजारीकरणको थलो पनि बनेको छ।
तर, प्लास्टिक र आयातित सामग्रीको बढ्दो प्रयोगले परम्परागत औजार र हस्तकलाको माग घटाएको छ। स्थानीय व्यवसायीहरूले महँगो भएकाले दारका ठेका र कृषि औजार कम बिक्री हुने समस्या औँल्याएका छन्। मेला कालिका भगवती गुठी व्यवस्थापन समितिको व्यवस्थापनमा चैत्राष्टमीबाट सुरु भएको छ, र अनुमानित पाँच लाख भक्तजन र पर्यटक सहभागी हुने गुठीले जनाएको छ।