काठमाडौं— वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकलाई प्रदान गरिने अभिमुखीकरण तालिमको शुल्क नबढेको स्पष्ट पारेको छ। विभागका अनुसार प्रति प्रशिक्षार्थी कुल शुल्क ७०० रुपैयाँ नै कायम रहेको छ र उक्त तालिम अनिवार्य रूपमा दुई दिन सञ्चालन गरिन्छ। पछिल्लो समय केही तालिम प्रदायक संस्थाले २१०० रुपैयाँसम्म असुल्दै आएको गुनासो आएपछि विभागले यस्तो स्पष्टिकरण दिएको हो। विभागले तोकिएको शुल्कभन्दा बढी रकम नलिन सबै संस्थालाई निर्देशन दिँदै यदि कसैले ७०० रुपैयाँभन्दा बढी लिएको प्रमाण भेटिएमा वैदेशिक रोजगार ऐन २०६४ तथा सम्बन्धित नियमावलीअनुसार कारबाही गर्दै त्यस्ता संस्थाको इजाजत पत्र स्वतः खारेज गरिने चेतावनी दिएको छ। साथै, पीडितहरूलाई प्रमाणसहित उजुरी गर्न समेत अनुरोध गरिएको छ।