तेह्रथुमस्थित तिनजुरे–मिल्के–जलजले क्षेत्र मा गुराँस संरक्षणका लागि कडा कदम चालिएको छ। गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपका कारण जैविक विविधता र प्राकृतिक संरचनामा असर पर्न थालेपछि सामुदायिक वनहरूले निगरानी बढाउँदै जरिवाना व्यवस्था लागू गरेका हुन्।
समुद्री सतहदेखि करिब १ हजार ७०० मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको यस क्षेत्रलाई ‘गुराँसको राजधानी’का रूपमा चिनिन्छ। बसन्तयाममा रातो, गुलाबी र सेता लालीगुराँस ले ढाकिने यो क्षेत्र आन्तरिक तथा भारतीय पर्यटकको प्रमुख आकर्षण बनेको छ। तर पर्यटकको बढ्दो चापसँगै फूल टिप्ने, हाँगा भाँच्ने र वन क्षेत्रमा क्षति पुर्याउने गतिविधि बढेपछि संरक्षणमा चुनौती थपिएको छ।
चैत्रे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार गुराँस संरक्षणका लागि कडाइ गरिएको छ। “गुराँस टिप्ने र हाँगा भाँच्नेहरूलाई भेटे जरिवाना तिराउने व्यवस्था गरेका छौं,” उनले भने। उनका अनुसार वन संरक्षणका लागि कर्मचारी परिचालन गरी निगरानीसमेत बढाइएको छ। साथै, गुराँसबाट जुस उत्पादनमा पनि नियमन सुरु गरिएको छ।
यसैबीच, ‘लालीगुराँस संरक्षण योजना तर्जुमा गोष्ठी’ले गुराँस संरक्षणका लागि कडा नीति आवश्यक रहेको निष्कर्ष निकालेको छ। गोष्ठीमा सहभागीहरूले वन क्षेत्रमा क्षति पुर्याउने गतिविधिमाथि कडाइका साथ कारबाही गर्ने सहमति जनाएका छन्।
कार्यक्रममा वन तथा वातावरण विज्ञ डा. नवीन भट्टराई ले गुराँसमा देखिएका समस्या, त्यसको प्रभाव र समाधानबारे चर्चा गर्दै ‘गुराँसको राजधानी’मै गुराँसका प्रजाति हराउँदै जानु चिन्ताजनक भएको बताए।
सामुदायिक वन महासंघ का कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौलाका अनुसार गुराँस संरक्षण बिना यहाँको पर्यावरण र पर्यटन दुवै जोखिममा पर्ने भएकाले समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको छ।