• २०८३ असार १६ गते मङ्गलवार
  • Preeti To Unicode

मधेश विश्वविद्यालयमा कर्मचारीद्वारा छात्रामाथि दुर्व्यवहारको आरोप, पक्राउ

मधेश विश्वविद्यालयमा कर्मचारीद्वारा छात्रामाथि दुर्व्यवहारको आरोप, पक्राउ

वीरगञ्जस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब सिर्जना गरेको आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार गद्दीले एक छात्रालाई अनैतिक सम्बन्धका लागि निरन्तर दबाब दिँदै आएका थिए। प्रस्ताव स्वीकार गरेमा परीक्षामा सहयोग गर्ने आश्वासन दिने र अस्वीकार गरेमा ‘मार्क्स घटाइदिने’ तथा अनुत्तीर्ण गराइदिने धम्की दिने गरेको उजुरीमा उल्लेख छ।

पीडित छात्राका अनुसार सुरुवातमा सहयोगको बहानामा नजिकिएका गद्दीले पछि फोन र सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउन थालेका थिए। प्रस्ताव अस्वीकार गरेपछि उनले शैक्षिक भविष्य नै समाप्त पार्ने चेतावनी दिएको पनि उजुरीमा उल्लेख गरिएको छ। यसै आधारमा छात्राले चैत १४ गते उजुरी दर्ता गराएकी थिइन्। उजुरीपछि फरार रहेका गद्दीलाई प्रहरीले खोजी गरी पक्राउ गरेको जनाएको छ।

पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले आरोपितमाथि कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। घटना सार्वजनिक भएसँगै विश्वविद्यालयभित्र अन्य छात्राहरू पनि यस्तै दुर्व्यवहारको सिकार भएको हुन सक्ने आशंका व्यक्त गरिएको छ। शिक्षण संस्थाभित्रै कर्मचारीबाट यस्तो गतिविधि हुनु गम्भीर विषय भएको भन्दै विद्यार्थीको सुरक्षा र शैक्षिक मर्यादामाथि प्रश्न उठेको छ।

यसैबीच, पक्राउ परेका गद्दी मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतका भतिजो रहेको बताइएको छ, जसका कारण यो प्रकरण थप चर्चामा आएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार