काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा पश्चिम एसियाका विभिन्न देशहरूमा हालसम्म ११ जना नेपाली नागरिक पक्राउ परेका छन्।परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेमा यूएईमा ३ जना, साउदी अरेबियामा ४ जना, कतारमा ३ जना र ओमानमा १ जना रहेका छन्। द्वन्द्वग्रस्त पश्चिम एसियाली देशहरूले सामाजिक सञ्जालमा फैलिने भ्रमपूर्ण सामग्रीप्रति कडाइ गर्दै आएका छन्। यस्ता गतिविधिमा संलग्नलाई पक्राउ गर्नेदेखि डिपोर्टसम्मका कारबाही गरिने ती देशहरूले जनाएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सामाजिक सञ्जालमा भ्रम फैलाउने उद्देश्यले फोटो तथा भिडियो सार्वजनिक गरेको आधारमा उनीहरू पक्राउ परेको जानकारी दिए।
इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि इरानले खाडी मुलुकतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएको छ। सोही क्रममा भएका आक्रमणका दृश्यहरू खिच्ने, सामाजिक सञ्जालमा सार्वजनिक गर्ने तथा भ्रामक सूचना फैलाउने अभियोगमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ परेका नेपालीहरूको अवस्थाबारे सम्बन्धित देशस्थित नेपाली दूतावास तथा नियोगहरूले आवश्यक जानकारी संकलन गरिरहेका छन्। उनीहरूमाथि लागेको आरोप, जरिवाना तथा सम्भावित कारबाहीबारे थप विवरण बुझ्ने काम भइरहेको प्रवक्ता क्षेत्रीले बताए।