काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशअनुसार विपक्षी सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको स्रोतले जनाएको छ। मुद्दाका आवश्यक प्रक्रिया पूरा भएकाले दुवै रिट अब पेसीमा चढ्ने तयारीमा रहेका छन्।जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते ओली र लेखकलाई पक्राउ गरेको थियो। उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै उनीहरूले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए।
चैत १६ गते छुट्टाछुट्टै इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो। सोही आदेशअनुसार सरकार पक्षले लिखित जवाफ बुझाइसकेको छ।अब दुवै पक्षबीच बहस हुने र त्यसपछि अदालतले आवश्यक निर्णय दिनेछ।