औषधि र खानाको संयोजनमा सावधानी किन आवश्यक छ?

औषधि र खानाको संयोजनमा सावधानी किन आवश्यक छ?

सामान्यतया मानिसहरू औषधि खाँदा मात्रा (डोज) र समयमै ध्यान दिन्छन्, तर औषधिसँग के खाने र के नखाने भन्ने कुरा प्रायः बेवास्ता गरिन्छ। वास्तवमा, केही खानेकुरा र औषधिको गलत संयोजनले औषधिको प्रभावलाई कम गर्न सक्छ वा अनावश्यक साइड इफेक्टहरू निम्त्याउन सक्छ। औषधि र खानाबीच हुने यस प्रकारको प्रतिक्रियालाई Food-Drug Interaction (FDI) भनिन्छ, जसले शरीरमा औषधिको काम गर्ने तरिकालाई प्रत्यक्ष असर पार्छ।

केही खानेकुराले औषधिलाई शरीरमा राम्ररी घुल्न वा रगतमा मिसिन दिँदैनन्, जसले गर्दा यसको प्रभाव घट्न सक्छ। त्यस्तै, कलेजोले औषधिलाई प्रोसेस गर्ने प्रक्रियामा पनि खाना अनुसार फरक पर्न सक्छ—कहिले ढिलो त कहिले छिटो। यसका कारण औषधिको असर अपेक्षाभन्दा कम वा बढी हुन सक्छ, साथै साइड इफेक्टहरूको जोखिम पनि बढ्छ।

उदाहरणका लागि, एन्टिबायोटिक औषधिसँग दूध, दही, पनिर वा क्याल्सियमयुक्त सप्लिमेन्ट लिनु उपयुक्त हुँदैन, किनकि यिनले औषधिको अवशोषण कम गर्छन्। त्यस्तै, थाइराइडको औषधिसँग सोया उत्पादन, ओखर र उच्च फाइबरयुक्त खानेकुरा खानु हुँदैन, किनकि यसले औषधिको प्रभावलाई कमजोर बनाउँछ। आइरन सप्लिमेन्ट अमिलो फलफूलसँग खाँदा राम्रोसँग अवशोषित हुन्छ भने दूधसँग खाँदा यसको प्रभाव घट्छ। क्याल्सियम र आइरनलाई सँगै लिनु पनि उचित हुँदैन, किनकि दुबैको अवशोषणमा बाधा पुग्छ।

औषधि र खानाबीचको समय अन्तर पनि निकै महत्त्वपूर्ण हुन्छ। केही औषधिहरू खाली पेटमा राम्रोसँग काम गर्छन् भने केहीलाई खाना खाएपछि लिनु उपयुक्त हुन्छ। त्यसैले औषधिको लेबलमा दिइएको निर्देशन वा डाक्टरको सल्लाहलाई सधैं प्राथमिकता दिनुपर्छ। सामान्यतया खाली पेट औषधि खाना खानुभन्दा ३०–६० मिनेट अगाडि र खानापछि लिने औषधि १५–३० मिनेटपछि लिन सल्लाह दिइन्छ।

गलत संयोजनका कारण पेट दुख्ने, ग्यास हुने, बान्ता, रिङ्गटा लाग्ने, मुटुको ढुकढुकी अनियमित हुने, रक्तचाप घटबढ हुने वा एलर्जी हुने जस्ता समस्या देखिन सक्छन्। यदि औषधि सेवनपछि सास फेर्न गाह्रो हुने, छाती दुख्ने, धेरै बान्ता हुने, बेहोस हुने वा गम्भीर एलर्जी देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनु आवश्यक हुन्छ।

यसका साथै, भिटामिन र मिनरल सप्लिमेन्टहरूले पनि खानासँग प्रतिक्रिया गर्न सक्छन्। जस्तै, क्याल्सियम र आइरनले एकअर्काको अवशोषण घटाउँछन् भने आइरन अमिलो फलफूलसँग खाँदा राम्रोसँग अवशोषित हुन्छ। त्यसैले सप्लिमेन्ट लिँदा पनि सही समय र खानाको संयोजनमा ध्यान दिनु अत्यन्त जरुरी हुन्छ।

अन्ततः, औषधि सधैं पानीसँग लिनु उपयुक्त हुन्छ र कुनै पनि औषधि वा सप्लिमेन्ट लिनुअघि यसको लेबल ध्यानपूर्वक पढ्नु तथा आवश्यक परेमा डाक्टरसँग परामर्श गर्नु नै सुरक्षित विकल्प हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार