चैतमा मात्रै नेपालका २३ स्थानमा बर्डफ्लु देखियो

चैतमा मात्रै नेपालका २३ स्थानमा बर्डफ्लु देखियो

काठमाडौँ – यस वर्ष चैत महिनामा मात्रै नेपालका २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, यसअघि चैत अघि बर्डफ्लु देखिएको थिएन। यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी नगरपालिकामा दुई स्थानमा बर्डफ्लु पुष्टि भएको थियो।

जिल्लागत विवरण हेर्दा, सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई स्थान, चितवनमा एक स्थान र काठमाडौँमा एक स्थानमा बर्डफ्लु देखिएको छ। काठमाडौँमा त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु पुष्टि भएको थियो। डा. दाहालले बर्डफ्लु देखिएका स्थानहरूमा नियन्त्रणको काम गरिएको र फैलिन नदेखिएको बताए।

ती प्रभावित स्थानहरूमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ। सुनसरी, झापा र मोरङमा सङ्क्रमण फैलिन नदिन पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको छ। महानिर्देशकका अनुसार, आकस्मिक रोग अन्वेषण टोलीले प्रभावित पशुपक्षी नष्ट गरेको र थप नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन। सरकारले बर्डफ्लु देखिएपछि नष्ट गरिएका हाँस, कुखुराको ७५ प्रतिशत क्षतिपूर्ति किसानलाई उपलब्ध गराउने व्यवस्था गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार