काठमाडौं — सरकारले नेपाल राष्ट्रबैंकको डेपुटी गभर्नरमा किरण पण्डितलाई नियुक्त गरेको छ। उनी हाल विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
राष्ट्रबैंकका कार्यकारी निर्देशकहरूमध्ये सातौँ वरीयतामा रहेका पण्डितलाई मंगलबार मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गरेको हो। दुई पद रिक्त रहेको भए पनि हाल एक जनालाई मात्र नियुक्त गरिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
गभर्नर डा. विश्वनाथ पौडेलले डेपुटी गभर्नर नियुक्तिका लागि चार जना कार्यकारी निर्देशकको नाम सिफारिस गरेका थिए, तर तीमध्ये पण्डित मात्र चयन भएका हुन्। अर्को डेपुटी गभर्नर किन नियुक्त गरिएन भन्ने विषयमा सरकारले कुनै स्पष्ट जानकारी दिएको छैन।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १६ अनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ। साथै, उक्त पदका लागि बैंकका विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट कार्यक्षमताका आधारमा रिक्त पदको दोब्बर संख्यामा नाम सिफारिस गर्नुपर्ने प्रावधान पनि छ। डेपुटी गभर्नर नियुक्त भएपछि सम्बन्धित व्यक्ति स्वतः बैंक सेवाबाट अवकाशमा गएको मानिन्छ र उनी सञ्चालक समितिको सदस्य पनि हुन्छन्।
नेपाल राष्ट्रबैंकमा लामो समयदेखि एक जना वरिष्ठता र अर्को कार्यक्षमताका आधारमा डेपुटी गभर्नर नियुक्त गर्ने परम्परा रहँदै आएको थियो। तर, अघिल्लो गभर्नर महाप्रसाद अधिकारीको कार्यकालमा भने दुवै जना कनिष्ठ कार्यकारी निर्देशकलाई उक्त पदमा नियुक्त गरिएको थियो।
को हुन् किरण पण्डित?
करिब दुई दशकअघि राष्ट्रबैंकमा प्रवेश गरेका पण्डितले बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा वित्तीय समावेशिता एवं ग्राहक संरक्षण महाशाखालगायत विभिन्न विभागमा काम गरिसकेका छन्।
उनी २० फागुन २०८१ मा कार्यकारी निर्देशकमा बढुवा भएका थिए। बढुवापछि उनले भुक्तानी प्रणाली विभागको नेतृत्व गरेका थिए भने गत कात्तिकमा विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएका थिए।
कार्यकारी निर्देशक हुँदा उनले गत २१ जेठदेखि केही समय राष्ट्रबैंकको प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
उनले राष्ट्रबैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा ‘सर्वोत्कृष्ट कर्मचारी’ सम्मान प्राप्त गरेका थिए। उक्त वर्ष उनी १,१४७ कर्मचारीमध्ये उत्कृष्ट घोषित भएका थिए।
शैक्षिक पृष्ठभूमि
पण्डितले पब्लिक युथ क्याम्पसबाट बीबीएस उत्तीर्ण गरेका हुन् र आफ्नो ब्याचमा त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट बनेका थिए। उनले त्रिचन्द्र क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।
यसका अतिरिक्त उनले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट जलवायु वित्तमा एकवर्षे व्यावसायिक कोर्स पूरा गरेका छन्। साथै, अमेरिकाको ड्युक विश्वविद्यालयबाट विकेन्द्रित वित्त र स्विट्जरल्याण्डको जेनेभा विश्वविद्यालयबाट मानवतावादी सञ्चारसम्बन्धी सर्टिफिकेट कोर्स पनि सम्पन्न गरेका छन्।