त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अटोमेटेड एक्स्टर्नल डिफिब्रिलेटर (एईडी) उपकरण जडान गरिएको छ। काठमाडौं महानगरपालिकाका अनुसार वडा नं. ९ अन्तर्गत पर्ने विमानस्थलमा सार्वजनिक स्थानमै पहिलो पटक यस्तो उपकरण राखिएको हो।

वडाध्यक्ष रामजी भण्डारीका अनुसार एईडी आकस्मिक हृदयघात वा मुटुको धड्कन अचानक बन्द हुने अवस्थामा तुरुन्त प्रयोग गरी बिरामीको ज्यान बचाउन सहयोग गर्ने जीवनरक्षक उपकरण हो। उनका अनुसार सार्वजनिक स्थानमा यस्ता उपकरण उपलब्ध हुनु आपत्कालीन स्वास्थ्य सुरक्षातर्फको महत्वपूर्ण कदम हो।

महानगरपालिकाले यस कार्यको समन्वय र कार्यान्वयनमा सहयोग पुर्‍याउने हेल्थ एडभान्समेन्ट प्रोग्राम इन साउथ एसिया नेपाल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई धन्यवाद दिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार