प्रकृति र पशुपंक्षी स्वस्थ नभई मानिस स्वस्थ हुन सक्दैनन् : स्वास्थ्यमन्त्री

प्रकृति र पशुपंक्षी स्वस्थ नभई मानिस स्वस्थ हुन सक्दैनन् : स्वास्थ्यमन्त्री

काठमाडौँमा विश्व स्वास्थ्य दिवस को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहता ले मानव स्वास्थ्यको दीगो सुरक्षाका लागि प्रकृति र पशुपंक्षीको स्वास्थ्यलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्। उनले ‘One Health’ (वान हेल्थ) अवधारणालाई सुदृढ बनाउनु वर्तमान समयको मुख्य आवश्यकता भएको उल्लेख गर्दै प्रकृति सुरक्षित नभएसम्म र पशुपंक्षी स्वस्थ नरहेसम्म मानिस पूर्ण रूपमा स्वस्थ रहन नसक्ने बताइन्। पछिल्लो समय मानव र पशुपंक्षीबीच बढ्दो निकटताले स्वास्थ्य क्षेत्रमा नयाँ र जटिल चुनौतीहरू थपिएकोप्रति उनले चिन्ता व्यक्त गरिन्।

मन्त्री मेहताका अनुसार रेबिज जस्ता पशुजन्य प्राणघातक रोग, जलवायु परिवर्तनका कारण फैलिने किटजन्य रोग तथा वातावरणीय प्रदूषणले निम्त्याउने क्यान्सर, मुटुरोग र मस्तिष्कघात जस्ता नसर्ने रोगहरूको जोखिम निरन्तर बढिरहेको छ। यस्ता समस्याहरू समाधान गर्न जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरण क्षेत्रबीचको प्रभावकारी सहकार्य अपरिहार्य रहेको उनले बताइन्। साथै, Antimicrobial Resistance (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) को बढ्दो सङ्कटबारे सचेत गराउँदै मानिस र पशुपंक्षी दुवैमा औषधिको जथाभाबी प्रयोगले भविष्यमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिइन्।

सरकारले सन् २०१९ देखि ‘राष्ट्रिय एक स्वास्थ्य रणनीति’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उनले आगामी दिनमा रोग निगरानी प्रणालीलाई अझ आधुनिक र सुदृढ बनाउने प्रतिबद्धता जनाइन्। नेपालजस्तो कृषिप्रधान देशमा ठूलो जनसङ्ख्या पशुपालनमा निर्भर रहने भएकाले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्ध अझ सुदृढ हुनुपर्नेमा उनले जोड दिइन्। साथै, नागरिकहरूलाई सरसफाइमा ध्यान दिन, घरपालुवा जनावरलाई अनिवार्य खोप लगाउन तथा स्वास्थ्यकर्मीको सल्लाह बिना औषधि प्रयोग नगर्न आग्रह गर्दै उपचारभन्दा रोगको रोकथाममा ध्यान दिनुपर्ने सन्देश दिएकी छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार