पाँचथर — पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत पर्ने नेपाल–भारत सिमाना चिवा भञ्ज्याङ्गदेखि थर्पुसम्मको ५०.६४ किलोमिटर सडक कालोपत्रे गर्ने काममा ठेकेदारको चरम लापरबाही देखिएको छ। ठेक्का लागेको पाँच वर्ष बितिसक्दा पनि सडक कालोपत्रे सम्पन्न हुन सकेको छैन भने कतिपय खण्डमा काम सुरु नै भएको छैन।
२०७७ सालमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित तीन प्याकेजमा १ अर्ब ४७ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो। तर निर्धारित समयभन्दा धेरै ढिलाइ हुँदा आयोजनाको प्रगति अत्यन्त सुस्त बनेको छ। भारतको सिक्किमसँग जोडिने राष्ट्रिय गौरवको यस आयोजनामा ठेकेदारको लापरबाहीले स्थानीय तहदेखि सरोकारवालासम्म चिन्ता बढाएको छ।
फिदिम आयोजना कार्यालयका अनुसार पहिलो खण्ड (१६ किमी) मा रोशन–शिवशक्ति जेभीले २७ प्रतिशत मात्र काम सम्पन्न गरेको छ। दोस्रो खण्ड (१७ किमी) मा सन्तोषी–शिवशक्ति जेभीको प्रगति १५ प्रतिशतमा सीमित छ। तेस्रो खण्ड (१७.६४७ किमी) मा रोशन–शिवशक्ति जेभीले करिब ५० प्रतिशत काम गरेको जनाएको छ।आयोजना प्रमुख सञ्जय मिश्रका अनुसार २०७९ मंसिरमा सम्पन्न हुनुपर्ने काम अझै पूरा हुन सकेको छैन। पटक–पटक ताकेता गर्दा पनि प्रगति नभएपछि दोस्रो खण्डको ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। अन्य दुई खण्डमा भने ठेकेदारले काम गर्ने प्रतिबद्धता जनाएपछि म्याद थप्ने तयारी भइरहेको छ।
आर्थिक पक्ष पनि कमजोर देखिएको छ। गत आर्थिक वर्षमा विनियोजित ५२ करोडमध्ये १६ करोड रुपैयाँ मात्र खर्च भएको थियो। चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि एक रुपैयाँ खर्च हुन सकेको छैन, जसका कारण बजेट फ्रिज हुने अवस्था दोहोरिँदै आएको छ।उता तेह्रथुम खण्डमा पनि अवस्था उस्तै छ। संक्रान्ति–म्याङ्लुङ खण्डको २४.४० किलोमिटर सडक अझै कालोपत्रे हुन बाँकी छ। यसमध्ये १४.४० किलोमिटरको ठेक्का तोडिए पनि पुनः ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन।
तेह्रथुममा २०७२ सालमै सुरु भएको कालोपत्रे योजना अझै अधुरै छ। कन्टेक/गौरी/पार्वती/कोशी जेभीले ३९ करोड १८ लाख रुपैयाँमा लिएको १० किलोमिटर सडकको काम हालसम्म ७५ प्रतिशत मात्र सम्पन्न भएको छ।यसरी ठेकेदारको ढिलासुस्ती, कमजोर अनुगमन र ठेक्का व्यवस्थापनमा देखिएको समस्याका कारण राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको छ भने स्थानीय बासिन्दा सडक सुविधा पाउने आशाबाट निराश बन्दै गएका छन्।