कार्यालय समय परिवर्तनसँगै काठमाडौंमा ट्राफिक जामको समय अघि सर्‍यो

कार्यालय समय परिवर्तनसँगै काठमाडौंमा ट्राफिक जामको समय अघि सर्‍यो

काठमाडौं  उपत्यकामा कार्यालय समय बिहान १० बजेदेखि ९ बजेसम्म अघि सारिएपछि सडकमा सवारी चाप हुने समय पनि परिवर्तन भएको छ। मन्त्रिपरिषद्को २२ चैतको निर्णयअनुसार कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म कायम भएपछि बिहान ८ बजेदेखि नै सवारी साधनको चाप बढ्न थालेको देखिएको छ। यससँगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि ‘पिक आवर ड्युटी’ बिहान ९ बजेको सट्टा ८ बजेदेखि सुरु गर्ने व्यवस्था मिलाएको छ। हाल पिक आवर बिहान ८ देखि ११ बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म रहने गरेको छ, यद्यपि बेलुकाको जामको अवस्था भने अझै उस्तै रहेको छ।

सवारी व्यवस्थापनका लागि उपत्यकामा दैनिक करिब १,४६० जना ट्राफिक प्रहरी परिचालन हुने गरेका छन्। विशेष गरी थापाथली, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर र कोटेश्वरलगायत ९७ स्थानमा पिक आवर ड्युटी सञ्चालन हुने गरेको छ भने ३२६ स्थानमा नियमित र २८ स्थानमा २४ घण्टा ड्युटी खटाइन्छ। उपत्यकामा करिब ११ लाख सवारी साधन रहेको अनुमान गरिएको छ, जसमा मोटरसाइकलको संख्या धेरै छ। सडकको क्षमताभन्दा बढी सवारी साधन सञ्चालन हुनु र ट्राफिक नियम पालना नगर्नु जामको मुख्य कारणका रूपमा देखिएको छ। यसैबीच, सवारी चापको समय परिवर्तन भएसँगै ट्राफिक एफएमले पनि सडक अवस्थाबारे जानकारी दिने आफ्नो कार्यक्रम बिहान ८ बजेदेखि १० बजेसम्म प्रसारण गर्न थालेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार