काठमाडौं । संयुक्त राष्ट्रसंघ ले इजरायल द्वारा लेबनान मा बुधबार गरिएको हवाई आक्रमणको कडा निन्दा गरेको छ।
लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजा ले आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल युद्ध रोक्न अपिल गरेका छन्। साथै, उनले मानवीय सहायता अभियानलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय समुदायसँग थप आर्थिक सहयोगको माग गरेका छन्।
उनका अनुसार बेरुत तथा दक्षिणी लेबननका विभिन्न क्षेत्रमा लगातार विस्फोट र एम्बुलेन्सका साइरन तीन घण्टासम्म सुनिएका थिए। संयुक्त राष्ट्रसंघका अधिकारीहरूका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एक क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो।
त्यसपछि दिउँसो इजरायल ले करिब १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको जनाइएको छ। “आक्रमणको स्तर अत्यन्त भयावह र अभूतपूर्व थियो,” रिजाले भनेका छन्। यद्यपि, हालसम्म हताहतको यकिन विवरण उपलब्ध नभए पनि सयौँ मानिस मारिएको वा घाइते भएको आशंका गरिएको छ। अस्पतालहरूमा अत्यधिक दबाब परेको छ र देशभर रगत दानका लागि अपिल गरिएको छ।
समाचार एजेन्सी रोयटर्स का अनुसार उक्त आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाह दुवैलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न तथा अवरोधविहीन मानवीय सहायता मार्ग तुरुन्त पुनःस्थापित गर्न आह्वान गरेको छ।
ठूलो मानवीय संकट
संयुक्त राष्ट्रसंघका अनुसार मार्च २ देखि इजरायल र हेजबुल्लाह बीच जारी द्वन्द्वमा हालसम्म करिब १,५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन्। साथै, ४६१ बालबालिका घाइते भएका छन्।
हवाई आक्रमण तथा स्थान खाली गर्न दिइएको निर्देशनका कारण हालसम्म करिब १२ लाख मानिस विस्थापित भएका छन्, जुन देशको कुल जनसंख्याको करिब २० प्रतिशत हो।
करिब १ लाख ३८ हजार मानिसले ६७८ वटा सामूहिक आश्रयस्थलमा शरण लिएका छन्, जसको अधिकांश व्यवस्था विद्यालयहरूमा गरिएको छ। अन्य धेरै मानिसहरू आधारभूत सेवाविहीन अस्थायी बासस्थानमा बस्न बाध्य छन्।
तनाव अन्त्यको अपिल
मानवीय सहायता समन्वयक रिजाले सर्वसाधारणमाथि परेको गम्भीर प्रभावप्रति चिन्ता व्यक्त गर्दै तत्काल तनाव अन्त्य गर्नुपर्ने बताएका छन्।
उनले भने, “यो समय बाँकी रहेका मुद्दामा वार्ता गर्ने, मतभेद समाधान गर्ने र स्थायी युद्धविरामतर्फ अघि बढ्ने हो।”
उनले अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना, सर्वसाधारण, स्वास्थ्यकर्मी तथा नागरिक संरचनाको सुरक्षा सुनिश्चित गर्न तथा मानवीय सहायता मार्ग खुला राख्नुपर्नेमा जोड दिएका छन्।