सर्लाही — सर्लाही जिल्लाको हरिवनस्थित चापिनी खोलामा निर्माण गरिएको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग बिहीबार बिहानदेखि केही समयका लागि अवरुद्ध भएको छ।
बुधबार राति परेको अविरल वर्षापछि आएको बाढीले हरिवनको तीनघरे र बासाटोलबीच रहेको उक्त डाइभर्सन बगाएको हो। यसका कारण बिहान करिब ४ बजेदेखि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।हाल राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य जारी रहेकाले पुरानो पुलको मर्मत र नयाँ पुल निर्माण सँगसँगै भइरहेको छ। निर्माण अवधिमा सवारी सञ्चालनका लागि डाइभर्सन प्रयोग गरिँदै आएको थियो।
डाइभर्सन बगाएपछि पुरानो पुलको मर्मत कार्य तत्काल रोकिएको प्रहरीले जनाएको छ। त्यसपछि सोही पुलमार्फत सवारी सञ्चालन गराउन माटो भरेर अस्थायी मर्मत गरिएको थियो।प्रहरीका अनुसार बिहान करिब साढे ८ बजेपछि पुलमा माटो हालेर सवारी सञ्चालन पुनः सुरु गरिएको छ। अहिले राजमार्ग खुलेसँगै रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढेका छन्।
भारी वर्षाका कारण आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग केही घण्टासम्म अवरुद्ध बनेको थियो।