कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण

धनगढी — कञ्चनपुर कारागार मा कैदीबन्दीबीच भएको झडपपछि १५ जनालाई अन्यत्र स्थानान्तरण गरिएको छ। बुधबार आपसी विवादका कारण दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका थिए।

झडपमा घाइते भएका तीन जनासहित १५ जनालाई सोही दिन नौबस्ता कारागार मा सारिएको कारागार प्रशासनले जनाएको छ। जेलर हेमन्ती साउँदका अनुसार आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई स्थानान्तरण गरिएको हो। स्थानान्तरण हुनेहरूमा भुवन नाथ, भुवन ऐर र प्रकाश घरेडी समेत रहेका छन्।घाइते भएका अन्य दुई जना—दाजु दमाई र आयुष बम—लाई भने कञ्चनपुरमै राखिएको छ। उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको जनाइएको छ।

यसअघि पनि गत पुस महिनामा सोही कारागारमा कैदीबन्दीबीच झडप भएको थियो। उक्त घटनामा मदिरा तथा लागूऔषध कारागारभित्र भित्र्याउने र महँगो मूल्यमा बिक्री गर्ने विषयमा विवाद भएको बताइएको थियो। तर यसपटकको झडप भने ‘आपसी विवाद’ का कारण भएको जेल प्रशासनले जनाएको छ। अन्य आरोपहरू पुष्टि नभएको पनि प्रशासनको भनाइ छ।अघिल्लो झडपपछि ९ जना कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो, जसमा आठ जनालाई नौबस्ता र एक जनालाई काठमाडौं पठाइएको थियो।

कारागारभित्र झडप हुने कारणमध्ये चौकीदार (कैदी नेतृत्वकर्ता) को अभाव पनि एक मानिएको छ। चालु आर्थिक वर्षका लागि नियुक्त चौकीदार प्रकाशबहादुर मल्लको सरुवा भएपछि नयाँ चौकीदार नियुक्त गरिएको छैन। चौकीदार नभएपछि कैदीबन्दी समूहबीच नेतृत्वका लागि प्रतिस्पर्धा बढ्ने र त्यसले झडप निम्त्याउने गरेको बताइन्छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बुधबारको झडप कैदीबन्दी स्थानान्तरणकै क्रममा भएको हो भने अघिल्लो घटना आर्थिक अपारदर्शितासँग सम्बन्धित थियो। उनले कारागारभित्र व्यवस्थापन सुधारका प्रयास भइरहेको र अहिले अवस्था नियन्त्रणमा रहेको बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार