काठमाडौं – ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था ड्रिम्स युनिभर्सलले बिहीबारदेखि आवेदन खुला भएको जानकारी दिएको छ। आठौँ संस्करणसम्म प्रतियोगिता न्यूयोर्क सहरमा आयोजना हुँदै आएको भए पनि यसपटक राजधानी वासिङ्टन डीसीमा हुने आयोजक प्रमुख शैलेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार यस संस्करणमा नेपाली फिल्मसहित अन्य क्षेत्रका सेलिब्रेटीको सहभागिता हुने जनाइएको छ। फिनाले समारोह जुलाई २५ (साउन ९) मा आयोजना हुनेछ। प्रतियोगितामा अमेरिका र क्यानडामा बसोबास गर्ने १८–२९ वर्ष उमेरका अविवाहित युवतीले भाग लिन सक्नेछन्। न्यूनतम शैक्षिक योग्यता उच्च माध्यमिक प्लस टु (या सो सरह) हुनुपर्नेछ भने उचाइ कम्तीमा ५ फिट १ इन्च हुनुपर्ने नियम छ।
प्रतियोगिताको नारा छ – “नेपाली महिलालाई सशक्त बनाउँदै, आगामी पुस्तालाई सशक्त बनाउने।” विजेताले मिस नेपाल २०२६ मा प्रवेश पाउनेछन्।