• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

रेडक्रस सभापति उम्मेदवार शुल्क ५१ हजार

रेडक्रस सभापति उम्मेदवार शुल्क ५१ हजार

काठमाडौं। परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीले आफ्नो निर्वाचन नियमावली संशोधन गर्दै उम्मेदवार शुल्क तोकेको छ। नयाँ नियम अनुसार अध्यक्ष पदका उम्मेदवारका लागि शुल्क ५१ हजार रुपैयाँ, केन्द्रीय पदाधिकारीका लागि ३५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ तोकिएको छ।

संस्थाले सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गर्दै आफ्नो संरचनामा पनि परिवर्तन गरेको छ। अब पाँच तहमा समिति हुने व्यवस्था छ—केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा। केन्द्रीय समिति १९ सदस्यीय रहनेछ, जसमा ५ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ। यसअघि केन्द्रीय समिति ३३ सदस्यीय थियो।

प्रदेश तहमा सभापतिको उम्मेदवार शुल्क २५ हजार, अन्य पदाधिकारीका लागि २० हजार र सदस्यका लागि ७ हजार तोकिएको छ। जिल्ला तहमा सभापति १५ हजार, अन्य पदाधिकारी १० हजार र सदस्य ५ हजार रुपैयाँ तिर्नुपर्नेछ। पालिका/उपशाखामा सभापति ५ हजार, अन्य पदाधिकारी ४ हजार र सदस्य ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था छ।

संस्थाका महामन्त्री मीनबहादुर मल्लका अनुसार, असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ। रेडक्रस सोसाइटी २०७७ सालदेखि तदर्थ समितिमा सञ्चालित छ र विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको हो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार