५ वैशाखदेखि हरेक शनिबार असनमा गाडी निषेध

५ वैशाखदेखि हरेक शनिबार असनमा गाडी निषेध

काठमाडौं । काठमाडौंको असन क्षेत्रको मौलिकता जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गर्ने निर्णय गरिएको छ। यस कार्यक्रमले स्थानीय व्यापार, सामाजिक तथा सांस्कृतिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

यसअघि स्थानीय संघसंस्था, क्लब तथा समुदायले चैत २८ गतेदेखि कार्यक्रम सुरु गर्ने तयारी गरेका थिए। तर, काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा भएको बैठकले तयारीमा कमजोरी नहोस् भनी कार्यक्रमलाई एक हप्ता पछि, वैशाख ५ गतेबाट लागू गर्ने निर्णय गरेको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, वडा अध्यक्ष योगेशकुमार खड्गी, प्रशासन विभाग प्रमुख महेश काफ्ले र सरोकारवाला कार्यालयका अन्य अधिकारी तथा स्थानीय प्रतिनिधि सहभागी थिए।

कार्यवाहक प्रमुख डंगोलले भनिन्, “असन सुनदेखि नुनसम्म र जन्मदेखि मृत्युसम्मका धार्मिक तथा सामाजिक कामका लागि आवश्यक पर्ने स्थान हो। यसको प्राचीन र सांस्कृतिक महत्त्व जोगाउनु हाम्रो दायित्व हो। आवागमन र स्थानीयबासीको सहजता तथा सुरक्षालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिनेछ।”

वडा अध्यक्ष खड्गीले कार्यक्रमले असन बजारको मौलिकता जोगाउने, वायु प्रदूषण घटाउने र सहरी वातावरण सुधारमा योगदान पुर्‍याउने बताए। प्रहरीले पैदल मार्ग व्यवस्थापन र सुरक्षा प्रबन्ध मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

‘भेहिकल फ्री असन’ कार्यक्रम अन्तर्गत वडा नं. २७ को क्षेत्र—कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धबाट असन—मा हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइनेछ। वैकल्पिक मार्ग उपलब्ध गराइनेछ। कार्यक्रमले स्थानीय परम्परागत तथा रैथाने व्यापार व्यवसायलाई प्रबर्द्धन गर्ने, मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने र सामाजिक क्रियाकलापलाई बढावा दिने लक्ष्य राखेको छ। कार्यक्रमको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगर प्रहरी बललाई दिइएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार