थापाको बोलीमा एमाले नेताहरूकाे आरोप–प्रत्यारोप

थापाको प्रत्याबोलीमा एमाले नेताहरूकाे आरोप–रोप

काठमाडौँ — नेकपा एमाले भित्र उपाध्यक्ष रामबहादुर थापा संसदीय दलको नेता चयन भएपछि सुरु भएको अन्तरसंघर्ष झन् चर्किएको छ। नेताहरू सार्वजनिक रूपमै एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

संसद्को पहिलो बैठकमा विवादास्पद अभिव्यक्ति दिएका थापाले पोखरामा आयोजित कार्यकर्ता भेलामा आफ्नो भनाइको बचाउ गर्दै उपाध्यक्ष विष्णु पौडेल लगायत नेताहरूको आलोचना गरेका छन्। उनले आफ्नो अभिव्यक्ति पार्टी निर्णय कार्यान्वयनकै क्रममा आएको दाबी गर्दै विरोध गर्नेहरूलाई “दक्षिणपन्थी प्रवृत्ति” को रूपमा चित्रित गरे।

थापाले सरकारलाई “शत्रु” को संज्ञा दिँदै कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका नेताहरूलाई सिध्याउने उद्देश्य देखिएको आरोपसमेत लगाए। उनको यस्तो अभिव्यक्तिप्रति पार्टीभित्रैबाट कडा प्रतिक्रिया आएको छ।

उपमहासचिव योगेश भट्टराई र नेता सुरेन्द्र पाण्डे ले सामाजिक सञ्जालमार्फत् थापाको आलोचना गरेका छन्। पाण्डेले माओवादी ‘जनयुद्ध’ को भाष्य एमालेको आधिकारिक विचार नभएको स्पष्ट पार्दै जनताको बहुदलीय जनवाद (जबज) नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उल्लेख गरेका छन्। उनले उग्र अभिव्यक्तिले कार्यकर्तामा भ्रम र जनतामा अविश्वास पैदा गर्ने चेतावनी दिएका छन्।यसैबीच, योगेश भट्टराईले व्यंग्यात्मक कविता लेख्दै पार्टीमा ‘बादल’ (थापाको उपनाम) मडारिएको टिप्पणी गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थापा एकातिर देखिएका छन् भने अर्कोतिर उपाध्यक्ष पौडेल, गोकर्ण विष्ट, योगेश भट्टराई र सुरेन्द्र पाण्डे लगायत नेताहरू असन्तुष्ट समूहमा उभिएका छन्।थापाको अभिव्यक्तिलाई लिएर पार्टीभित्रै मतभेद गहिरिँदै गएको छ। पौडेलनिकट नेताहरूले उनको भाषा र शैली एमालेको नीति तथा स्कुलिङअनुसार नभएको आरोप लगाएका छन्। उनीहरूले ‘कब्जा’, ‘आक्रमण’ र ‘दुश्मन’ जस्ता शब्दावली एमालेको परम्परासँग मेल नखाने बताएका छन्।

उता थापा पक्षधरहरूले भने कार्यवाहक अध्यक्षले पार्टीकै धारणा प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमार्फत् आलोचना गर्नु नै गलत भएको तर्क गरेका छन्।यस्तै, पार्टीभित्र विशेष महाधिवेशनको माग गर्दै अनौपचारिक रूपमा हस्ताक्षर संकलनसमेत सुरु भएको छ। जनवर्गीय संगठनहरूका केही नेताहरूले अभियान अघि बढाए पनि संस्थापन पक्षले उक्त गतिविधि रोक्न निर्देशन दिएको छ।

यस घटनाक्रमले एमालेभित्रको वैचारिक, राजनीतिक र नेतृत्वगत मतभेद झन् सतहमा आएको संकेत दिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र २७ गते शुक्रवार