काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने ले पार्टीका सांसदहरूलाई आफन्त तथा साथीभाइलाई नियुक्ति दिलाउने काममा नलाग्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्।
लामिछानेले सांसदहरूलाई “जेनजी पुस्ताको बलिदानबाट आफूहरू यो स्थानमा पुगेको” भन्दै त्यसलाई स्मरणमा राखेर जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका थिए। उनले विशेष रूपमा स्वार्थका आधारमा हुने नियुक्ति र सिफारिसबाट टाढा रहन सचेत गराएको सांसदहरूले बताएका छन्।उक्त बैठकमा काठमाडौँ महानगरपालिकाका मेयर बलेन शाह पनि सहभागी भएका थिए। यद्यपि उनले बैठकमा कुनै औपचारिक धारणा राखेनन्।
बैठकले उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबी ठाकुरलाई समर्थन गर्ने निर्णय पनि गरेको छ। रास्वपाको समर्थनमा ठाकुरले उम्मेदवारी दर्ता गराएकी हुन्। उपसभामुखको निर्वाचन आजै हुँदैछ।