काठमाडौं। वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि ब्याजदर थप घटाएका छन्। उच्च तरलता र न्यून कर्जा प्रवाहको अवस्थाका कारण बैंकहरूको ब्याजदर लगातार घट्दै गएको छ।
बैंकहरूले प्रत्येक महिनाको अन्तिम दिन आगामी महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने प्रचलन अनुसार सोमबार वैशाख महिनाको ब्याजदर सूची सार्वजनिक गरेका हुन्। चैत महिनाको तुलनामा वैशाखमा ७ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने १३ वटा बैंकले यथावत् राखेका छन्। अधिकांश बैंकले ब्याजदर स्थिर राखे पनि केहीले घटाएकाले औसत ब्याजदर समग्रमा घटेको देखिन्छ।
व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर चैतमा औसत ४.४९४ प्रतिशत रहेकोमा वैशाखमा ४.४०० प्रतिशतमा झरेको छ, जुन ०.०९४ प्रतिशत बिन्दुले कमी हो। चैतको तुलनामा वैशाखमा ब्याजदर घटाउने बैंकहरूमा एभरेस्ट, हिमालयन, कुमारी, एनआईसी एसिया, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। यस्तै कृषि विकास, सिटिजन्स, ग्लोबल आईएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल, नेपाल बैंक, एनएमबी, एसबीआई, प्राइम कमर्सियल, प्रभु र सानिमा बैंकले ब्याजदर स्थिर राखेका छन्।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घट्ने प्रवृत्ति देखिन्छ। निक्षेपको ब्याजदर घट्दा आधार दर (base rate) घट्न गई कर्जाको ब्याजदर समेत स्वतः कम हुने गर्दछ।
वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत कायम रहेको छ। एनएमबी बैंकले सबैभन्दा उच्च ५ प्रतिशत ब्याजदर तोकेको छ, तर यो दर ५ वर्ष वा सोभन्दा बढी अवधिका लागि मात्र लागू हुन्छ। अन्य सबै बैंकहरूको अधिकतम ब्याजदर ५ प्रतिशतभन्दा कम रहेको छ।
सामान्यतया बैंकहरूले छोटो अवधिका लागि कम र लामो अवधिका लागि केही बढी ब्याजदर प्रदान गर्ने गरेका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा उल्लेख गरिएको अधिकतम ब्याजदर पनि लामो अवधिका लागि नै लागू हुन्छ।
हाल बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त रहेको तर कर्जा प्रवाह अपेक्षाकृत कम भएकाले ब्याजदर घटिरहेको हो। Nepal Rastra Bank ले पनि वित्तीय प्रणालीमा तरलता व्यवस्थापन गर्न बोन्ड, स्थायी निक्षेप सुविधा लगायतका उपकरण प्रयोग गरी बजारबाट रकम खिच्दै आएको छ।