राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडकखण्ड स्तरोन्नति कार्य यतिबेला गम्भीर संकटमा परेको छ। इन्धन अभाव र बिटुमिन (अलकत्रा) को चर्को मूल्यवृद्धिका कारण निर्माण कार्य नै ठप्प हुने अवस्थामा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्ति असहजताले यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ। विशेषगरी सडक कालोपत्रेका लागि अत्यावश्यक बिटुमिनको अभावले निर्माण कम्पनीहरू काम अगाडि बढाउन असमर्थ देखिएका छन्। यो समस्या काँकडभिट्टा–लौकही सडकमा मात्र सीमित नभई देशभर फैलिएको छ।
यस सडकखण्डको पूर्वी भाग (काँकडभिट्टादेखि सीतापुरीसम्म) मा निर्माण कम्पनी इभ्रास्कन कालिका जेभीले तीव्र गतिमा काम गरिरहेको थियो। ४५ किलोमिटर लम्बाइमध्ये करिब २२ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रेका लागि ‘बेस’ तयार भइसकेको छ। तर, पिच गर्ने मुख्य समयमा नै बिटुमिन अभाव र डिजेल आपूर्ति कटौतीले काम प्रभावित बनेको छ।योजना प्रमुख सीडीई सुनिलबाबु पन्तले यो समस्या राष्ट्रिय स्तरकै भएको बताउँदै इन्धनको मूल्यवृद्धि र बिटुमिन खरिदमा कठिनाइले काम निरन्तरता दिन चुनौतीपूर्ण भएको उल्लेख गरे। उनका अनुसार हालसम्म पुरानो मौज्दातबाट काम चलाइए पनि अब स्टक सकिएपछि समस्या झन् गम्भीर बन्नेछ।
निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर उज्ज्वल प्रसाईंका अनुसार दैनिक करिब २० हजार लिटर डिजेल आवश्यक पर्नेमा अहिले ५–६ हजार लिटर मात्र उपलब्ध भइरहेको छ। सरकारले पेट्रोल पम्पहरूको कोटा घटाएकाले बजारबाट समेत इन्धन जुटाउन कठिन भएको उनले बताए। साथै बिटुमिनको मूल्य झन्डै दोब्बर बढेकोले काम सञ्चालन झन् कठिन भएको उनको भनाइ छ।डिजेलको मूल्यवृद्धिले सिमेन्ट, डन्डी र ढुवानी खर्चसमेत बढाएको छ, जसले समग्र निर्माण लागत उकासेको छ। प्रसाईंका अनुसार कम्पनीसँग अब १०–१५ दिनलाई पुग्ने मात्र बिटुमिन मौज्दात छ। समस्या समाधान नभए केही समयमै काम पूर्ण रूपमा रोकिने चेतावनी उनले दिए।
निर्माण व्यवसायीहरूका अनुसार वर्तमान अवस्थामा सडक कालोपत्रे गर्ने अवस्था नै छैन। इन्धन आपूर्तिमा कटौती र निर्माण सामग्रीको अभावले ठूला परियोजनासमेत प्रभावित भएका छन्। साना निर्माण व्यवसायीहरूले त काम पूर्ण रूपमा रोकेको अवस्था छ।निर्माण व्यवसायीहरूले सरकारसँग समस्या समाधानका लागि पहल गरिरहेको जनाएका छन्। पर्याप्त इन्धन आपूर्ति र मूल्य नियन्त्रण नगरेसम्म काम अगाडि बढ्न नसक्ने उनीहरूको भनाइ छ।
कोशी प्रदेश सरकारसमेत यस अवस्थाप्रति चिन्तित देखिएको छ। भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवारले झापाका धेरै आयोजना प्रभावित भएको उल्लेख गर्दै बिटुमिनको मूल्य अस्वाभाविक रूपमा बढेको बताए। यद्यपि, प्रदेश सरकारले प्रत्यक्ष हस्तक्षेप गर्न नसक्ने र संघीय सरकारको निर्णय कुर्नुपर्ने अवस्था रहेको उनले स्पष्ट पारे।हाल कोशी प्रदेशअन्तर्गत करिब १० देखि १२ अर्ब रुपैयाँका निर्माण आयोजना सञ्चालनमा छन्, जसमा अधिकांश सडक पिच गर्ने चरणमा पुगेका छन्। तर, इन्धन र बिटुमिन अभावले ती सबै आयोजना अलपत्र पर्ने जोखिम बढेको छ।
यसैबीच, नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्य नियन्त्रण र इन्धन आपूर्ति सहज नगरे ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्ने चेतावनी दिएको छ। यस्तो अवस्था आएमा राष्ट्रिय गौरवका आयोजनादेखि स्थानीय तहका साना योजनासम्म सबै ठप्प हुने र मुलुकको विकास लक्ष्यमा गम्भीर असर पर्ने निश्चित छ।
करिब १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा निर्माणाधीन काँकडभिट्टा–लौकही सडक सम्पन्न भएमा पूर्वी नाकाबाट हुने व्यापार र आवागमनमा महत्वपूर्ण सुधार आउने अपेक्षा गरिएको छ। तर, वर्तमान संकटले आयोजनाको समयसीमा र लागत दुवै बढ्ने देखिएको छ।