जुम्ला, म्याग्दी र कैलालीमा तीन जना मृत फेला

जुम्ला, म्याग्दी र कैलालीमा तीन जना मृत फेला

देशका विभिन्न स्थानमा तीन जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै घटनामा उनीहरू मृत भेटिएका हुन्।

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको नालीमा सोमबार ४२ वर्षीय मन बहादुर सार्की मृत अवस्थामा फेला परेका छन्। उनी चन्दननाथ नगरपालिका–३ डाँडाकोटका बासिन्दा भएको प्रहरीले जनाएको छ।त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार करिब ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। उनको नाम, थर र ठेगाना अझै खुल्न सकेको छैन।

यस्तै, कैलालीको जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा कुलरिया सिँचाइ नहरमा सोमबार करिब ३५ वर्षीय अर्का पुरुष मृत अवस्थामा फेला परेका छन्। उनको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तीनै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थप अनुसन्धान अघि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ३० गते सोमवार