काठमाडौँ — विश्वका विभिन्न देशहरूले बालबालिका र किशोरकिशोरीलाई सामाजिक सञ्जालको अत्यधिक प्रयोग र त्यसबाट हुने नकारात्मक असरबाट जोगाउन कडा कानुनी व्यवस्था लागू गर्न थालेका छन्। तर नेपालमा भने यस विषयमा अझै प्रारम्भिक छलफलसमेत सुरु हुन सकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनअघि सार्वजनिक गरेको सयबुँदे वाचापत्रमा डिजिटल रूपान्तरणसम्बन्धी विभिन्न योजना समावेश भए पनि सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिको नियमन र व्यवस्थापनबारे स्पष्ट नीति उल्लेख गरिएको पाइँदैन।
विशेषज्ञहरूका अनुसार बालबालिकाको मानसिक स्वास्थ्य र बौद्धिक विकासमा डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले नकारात्मक असर पारिरहेको भए पनि यसबारे नीतिगत तहमा पर्याप्त अध्ययन र छलफल नभएको देखिन्छ। यस कारण नयाँ पुस्ता विभिन्न जोखिममा परेको उनीहरूको भनाइ छ।
चिकित्सकहरूका अनुभवमा मोबाइलको अत्यधिक प्रयोगका कारण बालबालिकामा “भर्चुअल अटिजम” जस्ता लक्षण देखिन थालेका छन्। साथै, केहीमा एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्याहरू पनि बढ्दो रूपमा देखिन थालेका छन्।
सुर्खेतका मनोचिकित्सक डा. अमित झाका अनुसार मोबाइलको लतले प्रभावित एक बालकमा असामान्य व्यवहार देखिएको थियो। “उनी हातमा मोबाइल नभए पनि मोबाइल चलाइरहेको जस्तो व्यवहार गर्थे,” डा. झा भन्छन्, “हिँड्दा, खाना खाँदा, शौचालय जाँदा समेत औंलाले स्क्रिन चलाएझैं गर्थे र निरन्तर टाउको झुकाएर स्क्रिन हेरेझैं गर्थे।”
विशेषज्ञहरूले बालबालिकामा डिजिटल लत रोक्न समयमै नीति, अभिभावकीय निगरानी र सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन्।