काठमाडौं — दिवङ्गत आमाको सम्झनामा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थमा आज तर्पण, श्राद्ध र पूजाआजा गर्ने श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
बिहानैदेखि तीर्थस्थलमा स्नान, दान, श्राद्ध, तर्पण र पूजा गर्नेहरूको घुइँचो लागेको छ भने मेला भर्न आउनेहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ। आमा गुमाएका श्रद्धालुहरू आज बिहानै मातातीर्थ पुगेर स्नान गर्ने, हरिहर (विष्णु र शिव)को दर्शन तथा पूजा गर्ने गर्छन्।
मातातीर्थ कुण्डमा स्नान गरेमा दिवङ्गत आमाको आत्मालाई शान्ति मिल्ने धार्मिक विश्वास रहेको छ। सो परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्माण गरिएको ‘साझा आमा’को मूर्ति पनि स्थापना गरिएको छ, जसले सबै आमाको प्रतीकका रूपमा सम्मान पाएको छ।हरेक वर्ष आमा नहुनेहरूले मातातीर्थमा गई कुण्डमा स्नान गर्ने, मीठा परिकार चढाउने र यसरी मातृदिवस मनाउने परम्परा रहिआएको छ।