• २०८३ भाद्र ११ गते बिहिवार
  • Preeti To Unicode

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

काठमाडौं। नेपाल पानी उद्योग महासंघ ले प्रशोधित पिउने पानीको उत्पादन लागतमा उल्लेख्य वृद्धि भएको जनाउँदै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।

महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणहरूले उद्योग सञ्चालन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य भएको जनाएको छ। महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार तथा जारका क्यापजस्ता कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। साथै, पेट्रोलियम पदार्थ (डिजेल) को मूल्यवृद्धिले ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढाएको छ।

अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि लागत वृद्धिको प्रमुख कारणका रूपमा औंल्याइएको छ। विशेषगरी इरान–इजरायल तनाव र इरान–अमेरिका सम्बन्ध तनाव का कारण विश्व बजार, आपूर्ति प्रणाली र ढुवानी क्षेत्रमा परेको प्रभावले कच्चा पदार्थको मूल्य र उपलब्धतामा प्रत्यक्ष असर परेको महासंघको ठहर छ।

हाल नेपालभर ६२० भन्दा बढी पानी उद्योग सञ्चालनमा रहेका छन्, जसमा करिब १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। यस क्षेत्रले ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ। सुरक्षित र गुणस्तरीय पानी आपूर्ति गर्दै आएको यो उद्योग हालको लागत वृद्धिका कारण संकटमा परेको महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले बताएका छन्।

विज्ञप्तिमा भनिएको छ, “यो निर्णय नाफामूलक नभई बढ्दो उत्पादन लागत, ढुवानी खर्च र कच्चा पदार्थको मूल्यवृद्धिका कारण सिर्जित बाध्यात्मक अवस्था हो। हाल कायम मूल्यमा उद्योग सञ्चालन गर्न कठिन भएको निष्कर्षमा हामी पुगेका छौं।”महासंघले आफ्ना सदस्य उद्योगीहरूलाई कच्चा पदार्थ र सञ्चालन लागतमा भएको वृद्धिको अनुपातमा मूल्य समायोजन गरी बिक्री वितरण गर्न आग्रह गरेको छ।साथै, सरकारले उद्योगमैत्री नीति अवलम्बन गर्न, कूटनीतिक पहलमार्फत कच्चा पदार्थको उपलब्धता सुनिश्चित गर्न तथा ढुवानी लागत नियन्त्रणका उपायहरू अवलम्बन गर्नुपर्ने माग पनि महासंघले राखेको छ।

महासंघले उपभोक्ता, वितरक तथा सरोकारवालाहरूसमक्ष उद्योगको संरक्षण, रोजगारीको रक्षा र सेवा निरन्तरताका लागि गरिएको यस ‘बाध्यात्मक’ मूल्य समायोजनमा सहयोग गर्न अपिल गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार