काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश बा एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा ५ बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक चार जना पैदलयात्रीलाई ठक्कर दिएको हो।
दुर्घटनामा गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमि लामिछाने र उनका करिब ७ वर्षीय नाति रिहान्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। स्थानीयका अनुसार लामिछाने योग गुरुसमेत थिए।
ठक्करबाट लामिछानेकी ५० वर्षीया पत्नी सीता र ६५ वर्षीय स्थानीय सूर्य उपाध्याय घाइते भएका छन्। दुवैलाई उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा पठाइएको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक विवरणअनुसार उनीहरू बिहान योग गर्न जाँदै गर्दा तीव्र गतिमा आएको एम्बुलेन्सले ठक्कर दिएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।