काठमाडौँ — अनुभवी आरोही फूर दिकी शेर्पाले सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) २४ घण्टाभित्र आरोहण गर्ने लक्ष्यसहित तयारी थालेकी छन्।
शनिबार काठमाडौँको महाकालमा आयोजित पत्रकार सम्मेलनमा उनले ल्होत्से बेस क्याम्पबाट शिखर पुगेर पुनः बेस क्याम्प फर्किने सम्पूर्ण यात्रा २४ घण्टाभित्र पूरा गर्ने योजना सार्वजनिक गरिन्।
कार्यक्रममा सांसद मिङ्मा ग्याबु (डेभिड) शेर्पाले नेपाल हिमालहरूको देश भएकाले विश्वलाई मार्गदर्शन गर्न सक्ने क्षमता रहेको उल्लेख गर्दै अभियान सफलताको शुभकामना व्यक्त गरे। नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले शेर्पा समुदायले नेपालको पहिचान विश्वभर चिनाउन महत्वपूर्ण योगदान दिएको बताए।
त्यसैगरी खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले शेर्पालाई सफलताको शुभकामना दिँदै एकल महिलाहरूको हकहितमा स्थानीय तहबाट सहयोग गर्ने प्रतिबद्धता जनाए। वरिष्ठ पर्यटन व्यवसायी तथा एसियन ट्रेकिङ प्रालिका अध्यक्ष आङ छिरिङ शेर्पाले पनि अभियान सफलताको कामना गरे।
५१ वर्षीया शेर्पाले यो आरोहण आफ्ना स्वर्गीय बुबा आङ ङिमा शेर्पा र मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गर्ने बताइन्। उनले भनिन्, “मेरो बुबाको ल्होत्से चढ्ने सपना अधुरो रह्यो, त्यसलाई पूरा गर्न म यो अभियानमा लागेकी हुँ।”