सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ गौरीटापमा पहिलोपटक जिपलाइन सञ्चालनमा आएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहबाट करिब तीन हजार मिटर उचाइमा रहेको पत्ताले–गौरीटाप क्षेत्रको सिमानामा जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय नागरिकको आयआर्जन बढाउने तथा ग्रामीण पर्यटनमा टेवा पुर्याउने लक्ष्यसहित उक्त पूर्वाधार निर्माण गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले बताए । करिब ८० लाख रुपैयाँ लागतमा जिपलाइनसँगै साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यूप्वाइन्ट गरी पाँच प्रकारका साहसिक तथा मनोरञ्जन गतिविधि विकास गरिएको उपाध्यक्ष बिना राईले जानकारी दिइन् । कालिका निर्माण सेवासँग २०८२ साउन ११ गते सम्झौता गरी सुरु गरिएको योजना २०८२ चैतमै सम्पन्न गरी नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते ५५० मिटर लामो जिपलाइन उद्घाटन गरिएको हो । उद्घाटनकै दिन परीक्षणका रूपमा सञ्चालन गर्दा एक सयभन्दा बढीले जिपलाइन खेलेका थिए । नेचासल्यान–१ गौरीटाप र सोलुदुधकुण्ड–८ पत्तालेको सिमानामा रहेको उक्त जिपलाइन नियमित सञ्चालनका लागि ठेक्का प्रक्रियामार्फत आधिकारिक संस्थालाई जिम्मा दिने तयारी गरिएको छ । आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई जाने व्यवस्था गरिएको छ भने पत्ताले–गौरीटाप क्षेत्रबाट सगरमाथासहितका आकर्षक हिमशृंखला अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय उक्त क्षेत्र पर्यटकीय ‘हब’का रूपमा विकास हुँदै गएको छ ।