• २०८३ बैशाख १० गते बिहिवार
  • Preeti To Unicode

बढ्दै गर्मीको पारो, तराईमा तातो लहरको चेतावनी

बढ्दै गर्मीको पारो, तराईमा तातो लहरको चेतावनी

काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको छ।

आज पनि तराई क्षेत्रमा अत्यधिक गर्मी कायम रहने तथा केही स्थानमा तातो हावाको लहर चल्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार कर्णाली प्रदेश बाहेक बाँकी ६ प्रदेशका तराई क्षेत्र र उपत्यकाका खोँचहरूमा तातो दिन रहने सम्भावना छ।विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने चेतावनी दिइएको छ। विभागले तातो लहरले स्वास्थ्यमा असर पार्न सक्ने भएकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र घामबाट जोगिन आग्रह गरेको छ।

आज सार्वजनिक गरिएको पूर्वानुमान अनुसार केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने देखिएको छ। बाँकेको नेपालगञ्ज र रुपन्देहीको भैरहवामा तापक्रम ४० डिग्री नाघ्न सक्ने अनुमान छ। भैरहवामा ४०–४२ डिग्री र नेपालगञ्जमा ३९–४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।त्यसैगरी धनुषाको जनकपुर, डोटीको दिपायल र कैलालीको धनगढीमा ३८–४० डिग्री सेल्सियस रहने अनुमान गरिएको छ भने बाराको सिमरामा ३६–३८ डिग्री सेल्सियस रहनेछ।

आगामी शुक्रबार र शनिबार राति हिमाली भू–भागमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। साथै कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २०८३ बैशाख १० गते बिहिवार