विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु गरेको छ। शुक्रबार बिहान उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले नगर प्रहरी र नेपाल प्रहरीको सहकार्यमा उक्त अभियान अघि बढाएको हो।
यसअघि महानगरपालिकाले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी तथा सर्वसाधारणलाई फुटपाथ खाली गर्न सचेत गराएको थियो। सोही सूचनाअनुसार शुक्रबारदेखि बजार क्षेत्रका सडकपेटीमा राखिएका सामग्री हटाउन थालिएको हो।
महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ। साथै, सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न तथा मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न समेत निषेध गरिएको छ।
यस अभियानले पैदल यात्रुहरूको आवागमन सहज बनाउने र सहरको सुन्दरता तथा व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।