चितवन । नेपाल पर्यटन बोर्डले पहिलो पटक चितवनको मेघौलीमा ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ को औपचारिक सुरुआत गरेको छ । नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा पर्यटन व्यवसायीहरूको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले यसलाई नेपालको वन्यजन्तु पर्यटनलाई विश्व मञ्चमा पुर्याउने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले नेपाल हिमालका लागि मात्र नभई समृद्ध जैविक विविधता, जीवित संस्कृति र विश्वस्तरीय वन्यजन्तु पर्यटनका लागि चिनिने देश भएको उल्लेख गर्दै मार्टमार्फत लगानी, सहकार्य र पर्यटन प्रवर्द्धनका नयाँ अवसर खुल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले चितवन र मेघौलीलाई विश्वस्तरीय वन्यजन्तु पर्यटन केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए भने नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले यसलाई नेपालको पर्यटन यात्राको ऐतिहासिक कोसेढुङ्गाका रूपमा चित्रण गरे । त्यस्तै, उपाध्यक्ष रामप्रसाद सापकोटाले यसलाई साझा प्लेटफर्मका रूपमा व्याख्या गर्दा वरिष्ठ प्रबन्धक सूर्य थापलियाले रणनीतिक पहल भएको बताए । अन्तरराष्ट्रिय संरक्षणविद् मोहित अग्रवालले विश्वभर जिम्मेवार पर्यटनको माग बढ्दो क्रममा रहेको उल्लेख गर्दै पर्यटन र संरक्षणबीच सन्तुलन कायम गर्ने गन्तव्यप्रति आकर्षण बढ्दै गएको बताए । कार्यक्रममा डा. विश्वराज सुवेदीले चितवनको पर्यटन क्षेत्रका अवसर र चुनौतीबारे प्रस्तुति दिएका थिए भने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले संरक्षण उपलब्धि र आगामी प्राथमिकताबारे जानकारी गराएका थिए ।