हेटौँडा । मकवानपुरको हेटौँडा बचत तथा ऋण सहकारी संस्थाकी कायममुकायम व्यवस्थापक बन्द कोठाभित्र गम्भीर अवस्थामा फेला परेपछि उद्धार गरी अस्पताल भर्ना गरिएको छ। शुक्रबार मध्याह्न करिब १२ बजे भएको उक्त घटनामा उनलाई सुरुमा हेटौँडा अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि चितवनको भरतपुरस्थित सीएमसी अस्पतालमा थप उपचारका लागि पठाइएको थियो। परिवारका सदस्यहरूले सहकारीका पदाधिकारी तथा कर्मचारीबाट दिइएको मानसिक तनावका कारण उनले आत्महत्या प्रयास गरेको आरोप लगाउँदै निवर्तमान अध्यक्ष इन्द्रबहादुर बस्नेत, वर्तमान अध्यक्ष राजु वाइबा लगायत ७ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। पीडित परिवारले आरोपितहरूलाई राजनीतिक संरक्षण भएकाले कारबाही अघि नबढाइएको गुनासो गरेका छन् भने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले पीडित उपचारपछि फर्किएपछि दुवै पक्षबीच छलफल गरिने बताएका छन्। घटनास्थलबाट ‘अलबिदा’ लेखिएको ७–८ पृष्ठको सुसाइड नोटसमेत फेला परेको छ, जसमा कार्यस्थलमा दुर्व्यवहार, गालीगलौज, दबाब र धम्कीका कारण विष सेवन गर्न बाध्य भएको उल्लेख गरिएको छ। यता सहकारीका अध्यक्ष राजु वाइबाले भने आरोप अस्वीकार गर्दै जिम्मेवारी व्यवस्थापनका विषयमा मात्र मतभेद भएको दाबी गरेका छन्। ७ हजारभन्दा बढी सेयर सदस्य रहेको उक्त सहकारीमा पछिल्लो दुई वर्षदेखि पदाधिकारीबीच विवाद रहँदै आएको छ।