इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो

इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो

काठमाडौँ । नेपाली उपभोक्ताका लागि गएको चैत महिना निकै कष्टकर बनेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको देखिएको छ।

विशेषगरी पेट्रोलियम पदार्थमा भएको निरन्तर मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी तथा आयात खर्च बढ्दा यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा परेको विभागले जनाएको छ। प्रतिवेदनअनुसार चैत महिनामा सबैभन्दा धेरै मूल्यवृद्धि तरकारी बजारमा देखिएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांकलाई आधार मान्दा केही तरकारीको मूल्यमा ३०० प्रतिशतभन्दा बढी वृद्धि भएको छ। स्थानीय काउलीको मूल्य ३०४.७६ प्रतिशतले बढेको छ भने हाइब्रिड घिउ सिमीको मूल्य ३०० प्रतिशत र स्थानीय घिउ सिमीको मूल्य २६६.६७ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी फर्सी र ब्रोकाउलीको मूल्यमा क्रमशः २०० र १८७ प्रतिशतले वृद्धि भएको छ। मौसमी प्रभाव र ढुवानी खर्चमा भएको वृद्धिका कारण तरकारीको मूल्य नियन्त्रण बाहिर गएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि निगुरो, च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ।

चैत महिनामा इन्धनको मूल्यवृद्धि महँगीको मुख्य कारकका रूपमा देखिएको छ। फागुनदेखि चैतसम्म पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन गरिएको थियो। चैत २६ गतेसम्म पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ पुगेका थिए। त्यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १९१० रुपैयाँ पुगेको थियो भने हवाई इन्धनको मूल्य १७८५ रुपैयाँ पुगेको थियो। इन्धन महँगिएसँगै ढुवानी भाडा र उत्पादन लागत बढ्दा बजारमा समग्र मूल्यवृद्धि भएको विभागले जनाएको छ।

अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावले पनि महँगी बढाउन भूमिका खेलेको छ। चैत १६ गते डलरको खरिद दर १५१.४१ रुपैयाँ र बिक्री दर १५२.०१ रुपैयाँ पुगेर उच्च बिन्दुमा पुगेको थियो। नेपाल आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर महँगिँदा आयातित वस्तुको मूल्य पनि बढ्ने गरेको छ। प्रतिवेदनले यस अवस्थालाई ‘आयातित मुद्रास्फीति’ का रूपमा व्याख्या गरेको छ।

खाद्यान्नतर्फ पनि चैत महिनामा मूल्य वृद्धि देखिएको छ। विभिन्न सहरहरूमध्ये काठमाडौँ उपत्यकामा मूल्य तुलनात्मक रूपमा उच्च रहेको छ। सोना मन्सुली चामलको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँ पुगेको छ। मासको दाल १९० रुपैयाँ र मुसुरोको दाल १८५ रुपैयाँ प्रतिकिलो पुगेको छ भने चिनीको मूल्य १०० रुपैयाँ कायम रहेको छ। खाने तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ।

विभागका अनुसार बजार मूल्यवृद्धिका प्रमुख कारणहरूमा माग र आपूर्तिबीचको असन्तुलन, इन्धनको मूल्यवृद्धि तथा बिचौलियाको प्रभाव रहेका छन्। उत्पादनको समयमै पनि मूल्य घट्नुको सट्टा बढ्नु चिन्ताजनक भएको प्रतिवेदनमा उल्लेख छ। बिचौलियाले गर्ने अस्वाभाविक मूल्य निर्धारणले पनि मूल्यवृद्धिमा योगदान दिएको देखिएको छ।

बजार नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि विभागले आगामी दिनमा अधिकतम खुद्रा मूल्य (एमआरपी) को कडाइका साथ कार्यान्वयन गर्ने जनाएको छ। साथै सघन बजार अनुगमन, सूचना प्रविधिको प्रयोग र स्थानीय उत्पादन प्रवर्द्धनमा जोड दिइने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८३ बैशाख १३ गते आइतवार