सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

सरकारको हेपाहा प्रवृत्तिले अन्तत: दुर्घटनामा लैजान्छ : गगन थापा

काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै “हेपाहा प्रवृत्ति” देखिएको आरोप लगाएका छन्।

बुधबार सर्लाहीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले संसद् अधिवेशन बोलाइसकेपछि त्यसलाई रोकेर अध्यादेश ल्याउने कदमलाई संसद् र नागरिकप्रति गरिएको बेवास्ताका रूपमा व्याख्या गरे। उनले सरकार र प्रतिपक्ष दुवै जनताबाट निर्वाचित भएको स्मरण गराउँदै आपसी संवाद आवश्यक रहेकोमा जोड दिए।

उनले बालेन शाह नेतृत्वको सरकारलाई संकेत गर्दै भने, “उहाँ निर्वाचित प्रधानमन्त्री हुनुहुन्छ भने हामी पनि यही निर्वाचनबाट आएका प्रमुख प्रतिपक्षी हौं। हामी सबै संसद्मा छौं। यस्तो हेपाहा प्रवृत्तिले अन्ततः देशलाई अप्ठेरोमा पार्न सक्छ।”थापाले अध्यादेश जस्तो संवेदनशील विषयमा प्रमुख प्रतिपक्षीसँग कुनै छलफल नगरी अघि बढ्नु उचित नभएको बताए। आफूहरू पनि विगतका सरकारका निर्णय र नियुक्ति प्रक्रियामा सुधार चाहने पक्षमा रहेको उल्लेख गर्दै उनले संवादको अभावप्रति आपत्ति जनाए।हामी प्रमुख प्रतिपक्षी हौं। कम्तीमा एक पटक त संवाद गर्नुपर्थ्यो। सरकारका सोच र योजनाबारे जानकारी दिनु आवश्यक थियो,” उनले भने।

सरकार भर्खरै गठन भएको सन्दर्भमा आफूहरूले संयमित रूपमा प्रतिक्रिया दिइरहेको र सरकारलाई सहयोग गर्न इच्छुक रहेको पनि थापाले स्पष्ट पारे। शासकीय सुधारका प्रयासहरूमा साथ दिन तयार रहेको तर सबैलाई बेवास्ता गर्दै एकल ढंगले अघि बढ्ने प्रवृत्तिले सरकारलाई नै समस्या पार्ने उनको चेतावनी थियो।

“हामी सहयोग गर्न चाहन्छौं। तर, हामीलाई पूर्ण रूपमा नजरअन्दाज गरेर ‘एक्लै चलाउँछु’ भन्ने सोचले अन्ततः सरकारलाई नै अप्ठेरो पार्छ,” उनले भने।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार