वृद्धाका गरगहना लुट्ने समूहका थप २ जना समातिए

वृद्धाका गरगहना लुट्ने समूहका थप २ जना समातिए

काठमाडौंमा वृद्धा महिलालाई लक्षित गरेर गरगहना लुट्ने गिरोह सक्रिय रहेको पाइएको छ। सोही प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरी प्रहरी वृत्त थानकोटमा बुझाएको हो। यससँगै उक्त समूहका कुल ६ जना सदस्य पक्राउ परिसकेका छन्। यसअघि नुवाकोट ककनी गाउँपालिका–३ का २६ वर्षीय बिमल तामाङ, २१ वर्षीय सविन तामाङ, २१ वर्षीय सुजन तामाङ र नुवाकोटकै बिदुर नगरपालिका–१ का ४४ वर्षीय सतिश अमात्य पक्राउ परिसकेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार, उक्त समूहले घर भाडामा खोज्ने बहाना बनाएर वृद्धा महिलाको रेकी गर्ने र पछि मौका पारी गरगहना लुट्ने गरेको खुलेको छ। दैनिकजसो एउटै शैलीमा लुटपाट हुने सूचनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। सो क्रममा सीसीटीभी फुटेजको आधारमा गिरोहको पहिचान गरी पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा गिरोहले चोरीका मोटरसाइकल प्रयोग गर्ने गरेको पनि पाइएको छ। प्रायः दुई जना सवार हुने र पछाडि बस्ने व्यक्तिले गरगहना थुतेर भाग्ने शैली अपनाउने गरेको देखिएको छ। केही मोटरसाइकलमा नम्बर प्लेटसमेत परिवर्तन गरिएको पाइएको छ।

प्रहरीका अनुसार, उक्त समूहले दैनिक योजना बनाएर काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा लुटपाट गर्दै आएको थियो।

प्रकाशित मिति : २०८३ बैशाख १६ गते बुधवार