काठमाडौं । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रदान गर्न २०७ वटा पालिकाले रुचि देखाएका छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक साताअघि नापी तथा मालपोत कार्यालयका सेवाहरू स्थानीय तहबाटै सञ्चालन गर्न इच्छुक पालिकाहरूलाई आवेदन दिन आह्वान गरेको थियो। सोही अनुसार बिहीबारसम्म धरान उपमहानगरपालिका लगायत २०७ पालिकाले मन्त्रालयमा निवेदन दिएका छन्।
इच्छुक पालिकामा हुम्लाको सर्केगाड गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, सर्लाहीको चक्रभट्टा गाउँपालिका, कञ्चनपुरको बेलडाँडी गाउँपालिका सहित घोराही, धरान र धनगढी उपमहानगरपालिका समावेश छन्। साथै भरतपुर र पोखरा महानगरपालिकाले पनि सेवा सञ्चालनका लागि आवेदन दिएका छन्।मन्त्रालयले प्राप्त निवेदनमाथि अध्ययन सुरु गरिसकेको छ। चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजना अन्तर्गत पहिलो चरणमा केही पालिका छनोट गरिनेछ।
पालिका छनोट गर्दा सेवाग्राहीको चाप, भौगोलिक पहुँच र व्यवस्थापन क्षमतालाई आधार मानिने मन्त्रालयले जनाएको छ। विशेष गरी अत्यधिक वा न्यून सेवा चाप भएका पालिकालाई प्राथमिकतामा राखिनेछ।यसैबीच, सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयका कर्मचारीलाई तत्काल पालिकामा पुगेर स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले स्थानीय तहमा सेवा सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति, उपकरण तथा तालिमको व्यवस्था गर्ने तयारी गरेको छ। एक साताभित्र प्रारम्भिक तयारी पूरा गरी केही पालिकामा सेवा हस्तान्तरण सुरु गरिने जनाइएको छ।