नेपाल रेडक्रस सोसाइटी ले पालिकादेखि केन्द्रसम्म हुने निर्वाचनमा नेतृत्वदायी भूमिकामा युवा र महिलाको सहभागिता बढाउन विशेष पहल गरेको छ। सोसाइटीले अध्यक्ष, सभापति, महामन्त्री, महासचिवलगायत प्रमुख पदहरूमा युवा र महिलाको सार्थक उपस्थितिलाई प्राथमिकता दिएको हो।
यसअन्तर्गत १८ देखि ३० वर्ष उमेर समूहका युवा तथा महिलालाई नेतृत्वदायी पदहरूमा उम्मेदवारी दिन प्रोत्साहन गरिएको छ भने उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गरिएको छ। सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा महिलाको सहभागिता कम्तीमा ३३ प्रतिशत सुनिश्चित गरिएको छ।
विधानअनुसार केन्द्रीय समितिमा २१ सदस्य रहने व्यवस्था छ, जसमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य अनिवार्य गरिएको छ। त्यस्तै, १५ सदस्यीय प्रदेश समितिमा एक महिला उपाध्यक्ष, तीन महिला सदस्य तथा युवा समितिबाट कम्तीमा एक महिलासहित दुई जनाको सहभागिता रहनेछ।
जिल्ला शाखामा पनि १५ सदस्यीय समिति रहने व्यवस्था छ, जसमा एक महिला उपसभापति, तीन महिला सदस्य र युवा समितिबाट कम्तीमा एक महिलासहित दुई जनाको सहभागिता रहनेछ। पालिका शाखामा पनि १५ सदस्यीय समिति रहनेछ, जसमा एक महिला उपाध्यक्ष, तीन महिला सदस्य तथा युवा समितिबाट कम्तीमा एक महिलासहित दुई जनाको सहभागिता सुनिश्चित गरिएको छ।
उपशाखा तहमा ९ सदस्यीय कार्यसमिति रहनेछ, जसमा उपसभापति र कोषाध्यक्ष पदमा महिला अनिवार्य गरिएको छ भने सदस्यमा कम्तीमा दुई महिला रहने व्यवस्था गरिएको छ।
सबै तहका खुला सदस्य पदहरूमा पनि युवा तथा महिलाले उम्मेदवारी दिन सक्ने व्यवस्था रहेको छ। International Federation of Red Cross and Red Crescent Societies ले समेत नेपाल रेडक्रस सोसाइटीमा महिला र युवाको नेतृत्वदायी भूमिका सुदृढ गर्नुपर्नेमा जोड दिँदै आएको छ।
सोसाइटीले देशभरका पालिका, जिल्ला, प्रदेश तथा केन्द्रीय समितिहरूको निर्वाचन प्रक्रिया अघि बढाएको छ। तय गरिएको तालिकाअनुसार २०८३ वैशाख २६ देखि जेठ ४ गतेसम्म पालिका शाखा समितिहरूको, जेठ १५ गते जिल्ला शाखा समितिहरूको, असार २ गते प्रदेश समितिहरूको तथा असार २४ र २५ गते केन्द्रीय समितिको निर्वाचन सम्पन्न गरिनेछ।