काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका तथा स्वदेश फर्कन चाहने ६३ जना नेपाली नागरिकका लागि एकतर्फी यात्रा अनुमति पत्र तयार गरी पठाइसकेको जनाएको छ।
दूतावासका अनुसार, सोमबार बेलुकासम्म अनलाइन फाराममार्फत विवरण उपलब्ध गराएका व्यक्तिहरूका लागि उक्त कागजात तयार गरिएको हो। साथै, बुधबार बेलुकासम्म फाराम भर्ने अन्य व्यक्तिहरूको कागजात पनि भोलि पठाइने जानकारी दिइएको छ। फाराम भर्न बाँकी रहेका नागरिकहरूलाई तुरुन्तै अनलाइन लिङ्कमार्फत विवरण पेश गर्न दूतावासले अनुरोध गरेको छ।
यसअघि, दूतावासले चैत ३० र वैशाख १ गते गरी बिनाभिसा तथा अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइसकेको थियो। उनीहरूलाई विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुर्याइएको र त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा ठगीलगायत गैरकानूनी गतिविधिमा संलग्न गराइएको खुलेको थियो।
दूतावासले कम्बोडियामा अलपत्र परेका अन्य नेपाली नागरिकलाई पनि स्वदेश फर्काउने पहल जारी रहेको जनाएको छ। साथै, पर्यटनको बहानामा कम्बोडिया पुगेर भिसा अवधि समाप्त भएपछि पनि बसिरहेका तथा केही नेपालीहरू अवैध अनलाइन स्क्यामिङ गतिविधिमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासले उल्लेख गरेको छ।
दूतावासका अनुसार, अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएकाले यसलाई नियन्त्रण तथा अन्त्य गर्न कम्बोडिया सरकारले हालै नयाँ कानून लागू गरेको छ। उक्त कानूनअनुसार यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरिएको छ। साथै, स्क्यामिङ केन्द्रहरू बन्द गर्ने तथा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियान पनि तीव्र पारिएको छ।
दूतावासको अपिल : भिजिट भिसामा रोजगारीका लागि नजानू
दूतावासले एक अत्यन्त जरुरी सूचना जारी गर्दै प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न र कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ। यदि यस्ता गतिविधिमा संलग्न भएको भए तुरुन्त बन्द गरी नेपाल फर्कन आग्रह गरिएको छ।
उच्च तलब र आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडिया लगायत अन्य मुलुकहरूमा रोजगारीका लागि नजान पनि दूतावासले पुनः सचेत गराएको छ। विदेश जानुअघि वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर तथा रोजगारदाता संस्था र रोजगारीको आधिकारिकता सुनिश्चित गरेर मात्र जान आग्रह गरिएको छ।
मानव बेचबिखन विरुद्ध उजुरी दिन आह्वान
दूतावासले आफूलाई कम्बोडिया पुर्याउने व्यक्तिविरुद्ध नेपाल फर्किएपछि वा कम्बोडियाबाटै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन आग्रह गरेको छ। यसका लागि ब्युरोका फोन नम्बर (+९७७-०१-५३३९५६९, ९८५१२९२२००), टोल-फ्री नम्बर (१६६००१४११७७), हटलाइन (११७७) तथा इमेल (ahtb@nepalpolice.gov.np) उपलब्ध गराइएको छ।
त्यस्तै, यदि कुनै व्यक्ति आफ्ना परिवारका सदस्य वा साथीभाइ श्रम स्वीकृति बिना पर्यटकीय भिसामा कम्बोडिया गई लामो समयदेखि बसिरहेको वा समस्यामा परेको जानकारी भएमा बैंककस्थित नेपाली राजदूतावास वा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा जानकारी गराउन पनि अनुरोध गरिएको छ।
पछिल्ला वर्षहरूमा भिजिट भिसामा कम्बोडिया जाने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। उपलब्ध तथ्याङ्कअनुसार सन् २०२१ मा १०१ जना, सन् २०२२ मा १,९७७ जना, सन् २०२३ मा २,९४० जना, सन् २०२४ मा ६,४०४ जना र सन् २०२५ मा ९,६७६ जना नेपाली नागरिक कम्बोडिया पुगेका छन्।