• २०८३ बैशाख २९ गते मङ्गलवार
  • Preeti To Unicode

दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै ‘लालीबजार’, आमा–छोरीको भावनात्मक कथाले छोयो मन

दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुल्दै ‘लालीबजार’, आमा–छोरीको भावनात्मक कथाले छोयो मन

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ । बादी समुदायको कथामा आधारित यस फिल्मलाई हेर्ने अधिकांश दर्शकले उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका छन् । विशेषगरी आमा र छोरीबीचको भावनात्मक सम्बन्ध तथा एकल आमाको संघर्षको कथाले दर्शकको मन छोएको प्रतिक्रिया आएको छ ।फिल्मको टिम अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नव अभिनेता विशाल देवकोटा, नव अभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईलगायत काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको थियो । सो क्रममा दर्शकले फिल्मले समाजका संवेदनशील पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताएका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले दर्शकको प्रतिक्रिया उत्साहजनक रहेको बताउँदै फिल्मले उठाउन खोजेको विषयलाई दर्शकले स्पष्ट रूपमा बुझिदिएको बताइन् । उनले भनिन्, “महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएको देख्दा हामीले जे भन्न खोजेका थियौँ, त्यो सफल भएको महसुस भयो ।”डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले राम्रो अभिनय गरेको प्रतिक्रिया दिएका छन् । हलमै उनलाई ‘नारायण’ पात्रको नामले बोलाइरहेको दृश्यसमेत देखिएको थियो । त्यस्तै, जेन–जी अभियन्ता तथा कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदीले सबै वर्गका दर्शकबाट फिल्मले माया पाएको बताइन् ।निर्देशक यम थापाले फिल्मबारे गरिएका अनुमानहरू फिल्म हेरेपछि स्पष्ट हुने उल्लेख गर्दै ‘लालीबजार’ सपरिवार हेर्न मिल्ने फिल्म भएको बताए ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरबल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ । निर्देशक यम थापाको कथा तथा निर्देशनमा बनेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार